पर्सा–१ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंहद्वारा टोलवासीसँग भेटघाट

पर्सा  पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पिपरा गाउँपालिका वडा नम्बर १४ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले टोलवासीसँग भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।।

भेटघाट कार्यक्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, अपेक्षा तथा सुझाव सुन्नुभएको थियो। सो अवसरमा उहाँले युवाले खोजेको नेतृत्व र चाहेको परिवर्तन युवाबाट नै सम्भव हुने स्पष्ट पार्दै युवाको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उम्मेदवार सिंहले रोजगारी र गाउँ–समाजको विकासका लागि काठमाडौं वा सहर केन्द्रित सोच आवश्यक नरहेको उल्लेख गर्नुभयो। उहाँले गाउँमै बसेर रोजगारी सिर्जना गर्न सकिने र स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत समग्र विकास सम्भव रहेको धारणा व्यक्त गरे।

यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा हासिल गरेको अनुभव अब संघीय संसदसम्म पुर्‍याउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो। स्थानीय तहमा काम गर्दै जनताका समस्या नजिकबाट बुझेको अनुभवका आधारमा संसदमा प्रभावकारी रूपमा जनआवाज उठाउने उनको भनाइ थियो।

कार्यक्रममा टोलवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेटघाटका क्रममा उम्मेदवार सिंहप्रति स्थानीय जनताको चासो र विश्वास बढ्दै गएको देखिएको आयोजकले जनाएको छ।

उज्यालो नेपाल पार्टीले आगामी दिनहरूमा पनि यस्ता जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्