विकास, रोजगारी र स्थायित्वका लागि सूर्य चिन्हमा मतदान गर्न प्रदीपको अपिल

पर्सा–१ मा एमालेको चुनावी अभियान तीव्र

वीरगंज । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले पर्सा क्षेत्र नं १ मा चुनावी अभियानलाई तीव्र बनाएको छ । घरदैलो अभियान तथा जनसम्पर्क कार्यक्रममार्फत एमालेका नेता तथा प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।

घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्रीसमेत रहेका नेता यादवले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य साकार पार्न नेकपा एमालेलाई समर्थन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले विशेषतः जेनजी (युवा पुस्ता) को माग र भावनालाई कदर गर्दै विकास, रोजगारी र राजनीतिक स्थायित्वका लागि एमाले नै विश्वसनीय विकल्प भएको दाबी गरे ।

यादवले जनताको मतले देशलाई सही दिशामा लैजाने विश्वास व्यक्त गर्दै निर्वाचनमार्फत जनताको निर्णय निर्णायक हुने बताए । उनले पर्सा–१ मा एमालेको संगठनात्मक शक्ति, जनसमर्थन र कार्यकर्ता एकताका कारण पार्टीको निर्णायक जित सुनिश्चित रहेको दाबी गरे ।

उनले पर्सा–१ मा एमालेप्रति जनआकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता नै आफ्नो जितको मुख्य आधार भएको बताए । साथै एमालेको संगठन विस्तार र प्रभावशाली नेताहरूको पार्टी प्रवेशले पर्सा–१ मा एमालेको चुनावी वातावरण पूर्ण रूपमा पार्टी पक्षमा उन्मुख भएको दाबी गरे ।

यादवका अनुसार पछिल्लो समय एमालेको गतिविधि, जनसम्पर्क र संगठनात्मक मजबुतीका कारण कार्यकर्ता तथा समर्थकहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको छ । उनले आगामी दिनमा विकास, रोजगारी, पूर्वाधार र सामाजिक सेवाका क्षेत्रमा ठोस योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–१ मा यसपटक बहुदलीय प्रतिस्पर्धा कडा हुने संकेत देखिएको छ । प्रमुख दलहरू आ–आफ्ना एजेन्डा र रणनीतिसहित मैदानमा उत्रिँदा चुनावी माहोल थप तातिएको छ ।

प्रतिक्रिया दिनुहोस्