पर्सा–बारामा चुनावी सरगर्मी तीव्र

धार्मिक, सामाजिक र राजनीतिक गतिविधिमार्फत उम्मेदवारहरूको अभियान विस्तार

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा र बारा जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । विभिन्न दलका उम्मेदवारहरूले धार्मिक, सामाजिक तथा संगठनात्मक कार्यक्रममार्फत जनसम्पर्क विस्तार गर्दै चुनावी अभियानलाई प्रभावकारी बनाउन थालेका छन् ।

गहवामाई मन्दिरबाट अनिल रूँगटाको औपचारिक अभियान शुभारम्भ

नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रूँगटाले वीरगंजस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र गहवामाई मन्दिरमा पूजा-अर्चना गर्दै आफ्नो चुनावी अभियानको औपचारिक शुभारम्भ गरेका छन् ।

आइतवार बिहान विधिपूर्वक पूजाअर्चना गर्दै रूँगटाले सकारात्मक सोच, जनसेवा र समावेशी विकासलाई आफ्नो राजनीतिक यात्राको मूल आधार बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले गहवामाई मन्दिर वीरगंज मात्र नभई सम्पूर्ण पर्सावासीको साझा आस्थाको केन्द्र भएको उल्लेख गर्दै जनसेवाको पवित्र उद्देश्यसहित चुनावी यात्रामा अघि बढेको बताए । उनले गहवामाईको कृपाले जनताको भरोसा जित्ने शक्ति र धैर्य प्राप्त हुने विश्वास व्यक्त गर्दै चुनावमा सफलता प्राप्त हुने अपेक्षा समेत व्यक्त गरे ।

सो अवसरमा रूँगटाले स्थानीय नेता, पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिहरूसँग आत्मीय भेटघाट तथा छलफल गर्दै क्षेत्रका विकास, जनअपेक्षा र चुनावी रणनीतिबारे विचार विमर्श गरेका थिए ।

मानवसेवा आश्रममा सामाजिक उत्तरदायित्वको अभ्यास

चुनावी अभियानसँगै सामाजिक उत्तरदायित्वलाई जोड दिँदै उम्मेदवार रूँगटाले वीरगंज महानगरपालिका–२४ स्थित मानवसेवा आश्रमका आश्रितहरूलाई बिहानीको भोजन गराएका छन् ।

उनले मानवसेवाले लामो समयदेखि असहाय, अशक्त तथा सेवाबाट वञ्चित वर्गका लागि गर्दै आएको योगदानको प्रशंसा गर्दै स्वयंसेवकहरूको निस्स्वार्थ सेवा समाजका लागि प्रेरणादायी रहेको बताए ।

रूँगटाले यस्ता सेवामूलक संस्थाहरू समाजका मौनपीडितहरूका लागि आशाको केन्द्र बनेको उल्लेख गर्दै यिनले समाजमा सहानुभूति, सकारात्मक सोच र मानवीय मूल्यहरूको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए । सो अवसरमा उनले आश्रमको अवलोकनसमेत गरेका थिए ।

पर्सागढीमा रास्वपाको संगठन विस्तार

यसैबीच, पर्सागढी नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नगर पार्टी कार्यालय उद्घाटन गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ । घण्टीघरमा आयोजित उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं २ का उम्मेदवार सुशीलकुमार कानूले कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानूले देशमा परिवर्तनको लहर शुरू भइसकेको दाबी गर्दै पुरानो राजनीतिक संस्कृतिलाई विस्थापन गर्दै नयाँ विकल्पलाई समर्थन गर्न मतदातासमक्ष आग्रह गरे ।

उनले रास्वपाले मधेसी समुदायका छोरा बालेन साहलाई प्रधानमन्त्री बनाउने घोषणा गरिसकेको उल्लेख गर्दै मधेस मात्र नभई देशभरका नागरिक रास्वपाप्रति उत्साहित भएको दाबी गरे ।

कानूले पर्सा–२ मा पनि परिवर्तनको लहर चलेको बताउँदै आफू विजयी हुने विश्वास व्यक्त गरे । उनले वडाध्यक्ष पदबाट राजीनामा दिएर जनताको सेवा गर्न राजनीतिमा आएको उल्लेख गर्दै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाए ।

उद्घाटन कार्यक्रममा रास्वपा पर्साकी कार्यवाहक सभापति तुलसा पौडेल, क्षेत्रीय उपसभापति शान्ति ढकाल, पर्सागढी नगर सभापति कविराज अर्याल, उपसभापति सुनील रायभर, सचिव सरफु आलम अन्सारी, कोषाध्यक्ष सम्झना कार्की, वडा सभापति गङ्गा आचार्य, युवा नेता बुद्धिराज पौडेल, तपसी पटेललगायतको सहभागिता रहेको थियो ।

सिम्रौनगढमा जनमत पार्टीको चुनावी संरचना निर्माण

बाराको सिम्रौनगढमा जनमत पार्टी बारा क्षेत्र नं १ को क्षेत्रीय बैठक सम्पन्न भएको छ । क्षेत्रीय अध्यक्ष रामविनोदप्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विजय गुप्ताको संयोजकत्वमा ११ सदस्यीय चुनावी कोर समिति गठन गरेको छ ।

कोर समितिमा डा. कमरुल्लाह अन्सारी, डा. रामविनोद यादव, युवराज मैनालीलगायत सदस्यहरू रहेका छन् ।

यसअघि जनमत पार्टीले नगर क्षेत्रमा र्‍याली आयोजना गरी आफ्ना उम्मेदवारको पक्षमा मत मागेको थियो ।

यसैगरी, जनमत पार्टी पर्सा क्षेत्र नं १ का उम्मेदवार ओमप्रकाश सर्राफले वीरगंजमा चुनावी भेला सम्पन्न गरेका छन् । भेलामा पार्टीका क्षेत्रीय इन्चार्ज, महिला, युवा तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । भेलामा आगामी निर्वाचनमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे व्यापक छलफल गरिएको जनाइएको छ ।

पर्सा–बारामा कडा प्रतिस्पर्धाको संकेत

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा र बारा जिल्लामा राजनीतिक गतिविधि तीव्र हुँदै गएको छ । विभिन्न दलका उम्मेदवारहरूले धार्मिक, सामाजिक तथा संगठनात्मक कार्यक्रममार्फत मतदातालाई आकर्षित गर्ने प्रयास बढाएका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार यसपटक पर्सा र बारा क्षेत्रमा बहुपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएको छ, जसले निर्वाचनलाई रोचक र निर्णायक बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्