पर्सामा प्रतिनिधिसभा निर्वाचन: १०९ उम्मेदवार मैदानमा

वीरगञ्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ४२ दिन बाँकी रहँदा पर्सा जिल्लामा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। चारवटा निर्वाचन क्षेत्रबाट कुल १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ६५ जना दलगत र ४४ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

निर्वाचन आयोगका अनुसार पर्सामा स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थिति देखिएको छ, जसले यसपटकको निर्वाचनलाई प्रतिस्पर्धात्मक मात्र नभई बहुआयामिक बनाएको छ।

निर्वाचन क्षेत्र नं १: प्रभावशाली नेताहरूको भिडन्त

पर्सा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये २० जना दलगत र १० जना स्वतन्त्र उम्मेदवार छन्।
स्वतन्त्र उम्मेदवारमध्ये केहीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सवारीसाधनको दुरुपयोग गरिरहेको आरोप पनि लागेको छ।

यस क्षेत्रबाट एमालेका उम्मेदवार प्रदीप यादव लगातार तेस्रो जित (ह्याट्रिक) को प्रयासमा छन्।
नेपाली कांग्रेसबाट अनिल रूँगटा पुनः चुनावी मैदानमा उत्रिएका छन् भने जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादव पनि प्रतिस्पर्धामा छन्।

उज्यालो नेपालबाट रामकिशोर सिंह, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त लगायतका उम्मेदवारहरू पनि मैदानमा छन्।

निर्वाचन क्षेत्र नं २: दलहरूबीच त्रिकोणात्मक प्रतिस्पर्धा

पर्सा निर्वाचन क्षेत्र नं २ बाट ३२ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये १८ दलगत र १४ स्वतन्त्र उम्मेदवार छन्।

नेपाली कांग्रेसबाट पूर्वमन्त्री अजयकुमार चौरसिया, एमालेबाट रीमाकुमारी यादव, जसपा नेपालबाट उद्योगी अशोक टेमानी उम्मेदवार बनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशील साह कानू र राप्रपाबाट वीणाकुमारी जैसवाल पनि चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचन क्षेत्र नं ३: सत्ता र प्रतिपक्षको प्रतिस्पर्धा

पर्सा निर्वाचन क्षेत्र नं ३ बाट २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १४ दलगत र ९ स्वतन्त्र उम्मेदवार रहेका छन्।

नेपाली कांग्रेसबाट पूर्वमन्त्री सुरेन्द्र चौधरी, एमालेबाट रूपेश पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्माण व्यवसायी रामाकान्त चौरसिया र नेकपाबाट छोटेलाल यादव उम्मेदवार बनेका छन्।

निर्वाचन क्षेत्र नं ४: नयाँ र पुराना नेताबीच प्रतिस्पर्धा

पर्सा निर्वाचन क्षेत्र नं ४ बाट २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १३ दलगत र ११ स्वतन्त्र उम्मेदवार रहेका छन्।

नेपाली कांग्रेसबाट पूर्वमन्त्री रमेश रिजाल, एमालेबाट जालिम मियाँ अन्सारी, नेपाली कम्युनिस्ट पार्टीबाट जयप्रकाश थारू तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य उम्मेदवार बनेका छन्।

प्रतिस्पर्धा, रणनीति र संकेत

चारै निर्वाचन क्षेत्रमा मुख्य दलका प्रभावशाली नेताहरू, उदाउँदा राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य उपस्थिति रहेकाले पर्सामा यसपटकको निर्वाचन परिणाम अनुमान गर्न कठिन देखिएको छ।
विशेषतः एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबीचको प्रतिस्पर्धाले मधेसको राजनीतिक समीकरणलाई थप जटिल बनाएको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्