केपी शर्मा ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष निर्वाचित

वीरगञ्ज । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली पुनः पार्टी अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै ओलीले तेस्रो कार्यकालका लागि पार्टीको नेतृत्व सम्हालेका हुन् ।

महाधिवेशनमा सहभागी २ हजार २६२ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गरेका थिए । मतदानमा ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मतमा सीमित भए । ओली र पोखरेल दुवैले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

विद्युतीय मतदान मेसिन प्रयोग गरिएको महाधिवेशनमा मतदान प्रक्रिया केही समय लामो चले पनि मतगणना भने छिटो सम्पन्न भएको थियो । ओलीको स्पष्ट विजयले पार्टीभित्र उनको प्रभाव र नेतृत्व थप सुदृढ भएको विश्लेषकहरूको भनाइ छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठन सुदृढीकरण र भावी राजनीतिक रणनीतिबारे समेत छलफल गरेको छ ।

यसैबीच, अध्यक्ष ओलीको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पर्साका तीन जना नेता विजयी भएका छन् । पछिल्लो मतपरिणाम अनुसार खुला दलित तर्फ प्रभु हजरा, मधेसी (खुला) तर्फ विजयकुमार सरावगी र भूगोल (मधेसी) महिला तर्फ निर्मला देवकोटा केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

खुला दलित तर्फ उम्मेदवार तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले १ हजार ४६५ मत प्राप्त गरे । मधेसी (खुला) तर्फ वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले १ हजार ४३५ मत ल्याए । भूगोल (मधेसी) महिला तर्फ उम्मेदवार निर्मला देवकोटाले १ हजार ३२५ मत प्राप्त गरिन् ।

पर्साबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका अन्य उम्मेदवारहरू भने पराजित भएका छन् । पराजित हुनेहरूमा पूर्व मन्त्री तथा निवर्तमान सांसद राजकुमार गुप्ता, पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहान, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, बसरुदीन अन्सारी, एमाले वीरगञ्ज महानगर कमिटी इन्चार्ज नवराज शर्मा, रन्जु फुयाँल र अरविन्द सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्