४५० थान अवैध ‘लाभा’ मोबाइल बरामद

सशस्त्र प्रहरीको निगरानी कडा

पर्सा । पर्साको जिराभवानी गाउँपालिका–१ बलुवामा सशस्त्र प्रहरीले आज बिहान ठूलो मात्रामा भन्सार छली गरिएको किप्याड मोबाइल सेट बरामद गरेको छ। भारतबाट अवैध रूपमा भित्र्याउँदै ल्याइएका मोबाइलहरू सीमास्थित धानबारीमा लुकाइराखेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टिबाट निरीक्षक हरि चन्द्र खड्काको नेतृत्वमा गएको गस्ती टोलीले करिब ४५० थान ‘लाभा’ कम्पनीको किप्याड मोबाइल बरामद गर्न सफल भएको हो।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका उपरीक्षक पुरन चन्द्र भट्टका अनुसार बरामद मोबाइलहरूको बजार मूल्य करिब ९ लाख रुपैयाँ बराबर पर्ने अनुमान गरिएको छ। बरामद सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिरगंज भन्सार कार्यालयमा बुझाइएको उनको भनाइ छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा तस्करीका गतिविधि रोकथामका लागि निगरानी थप कडा पारेको जनाएको छ। अधिकारीहरूका अनुसार पछिल्लो समय भारत–नेपाल सीमामा इलेक्ट्रोनिक सामान, मोबाइल सेट र अन्य सामग्रीको अवैध ओसारपसार बढेको भन्दै नियमित गस्ती तथा अनुगमनलाई अझ सशक्त बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्