पर्सा जिल्ला अदालतः ३० दिनका लागि सेवा प्रभावित हुने

वीरगञ्ज । पर्सा जिल्ला अदालत, वीरगञ्जले ३० दिनका लागि अदालतका नियमित कामकाज प्रभावित हुने सूचना सार्वजनिक गरेको छ । अदालत प्रशासन शाखाले आइतबार एक सूचना जारी गर्दै विशेष परिस्थितिका कारण अदालतको नियमित सेवा प्रवाहमा असुविधा हुने भन्दै सम्बन्धित सबैलाई जानकारी गराइएको हो।

सूचनामा उल्लेख भएअनुसार, सर्वोच्च अदालतको २०८२ साउन २९ गतेको आदेशअनुसार पर्सा जिल्ला अदालतमा न्यायाधीशहरूको असुविधा तथा अभावका कारण मुद्दा सुनुवाइ तथा कार्यसम्पादनमा बाधा पर्ने देखिएको छ । यसले गर्दा अदालतको काम कारबाही सुचारु हुन नसक्ने भएकाले मिति २०८२ साउन २९ गतेदेखि आगामी ३० दिनसम्म मुद्दा सम्बन्धी कार्यहरू स्थगित हुने जनाइएको छ । पश्चात सेवाग्राहीले बाटो म्याद बाहेक ३० दिनभित्र तारेख लिन सक्ने समेत जनाइएको छ ।

अदालतले यस अवधिभर मुद्दा पेशी तोकिएका पक्षलाई दशैं पछि उपस्थित हुन आग्रह गरेको छ । साथै, जरुरी प्रकृतिका कार्य मात्र प्राथमिकताका आधारमा सम्पन्न गरिने पनि सूचनामा उल्लेख गरिएको छ।

यसबारे विस्तृत जानकारीको लागि मुद्दाका सम्बन्धित पक्षलाई सूचना ख्यालपूर्वक पढ्न पनि आग्रह गरिएको छ ।

जिल्ला अदालतले सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति खेद प्रकट गर्दै, न्यायिक प्रक्रियामा कुनै प्रकारको अन्योल नहोस् भन्ने उद्देश्यले यो सूचना सार्वजनिक गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्