काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले पहिलो विजेता पाउन अब एक खेल मात्र बाँकी छ । ३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्स फाइनलका लागि भिड्न तयार छन् ।
लिग चरणमा शीर्ष दुईमै रहेका दुई टोली क्वालिफायर जित्दै फाइनलमा पुगेका हुन् । त्यसैले उत्कृष्ट दुई टोलबीच नै फाइनल पुगेको भन्न सकिन्छ ।
लिग चरणमा शीर्ष दुईमा रहेपछि सुदूरपश्मि र जनकपुर नै क्वालिफायर वान मा भिडेका थिए जहाँ सुदूरले जनकपुरलाई हराएर फाइनल पुगेको थियो ।
त्यसपछि जनकपुरले पाएको अर्को अवसरलाई सदुपयोग गर्यो । एलिमिनेटरमा चितवन राइनोजलाई हराएर आएको कर्णाली याक्सलाई क्वालिफायर टु मा २ विकेटले पराजित गर्दै फेरि सुदूरसँगकै भेट पक्का गर्यो ।
सुदूर र जनकपुरबीचको फाइनल खेल शनिबार दिउँसो १२:३० बजे कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुनेछ ।
फाइनल जित्ने टिमले एनपीएलको आकर्षक ट्रफीसँगै नगद १ करोड १० लाख पुरस्कार पनि पाउनेछ । यो नेपाली खेलकुदमा कुनै पनि खेलको विजेताले पाउने सबैभन्दा ठूलो रकम हो । उपविजेताले पनि ५१ लाख हात पार्नेछन् । यस्तै प्लेअर अफ दी सिरिज (नेपाली खेलाडी) ले ओमोडा ई ५ कार पुरस्कार पाउनेछन् ।
फाइनल खेलका लागि सुदूरपश्चिम र जनकपुर बोल्ट्स दुवै टिम तयार छन् । सुदूरपश्चिमले क्वालिफायर वान जितेर सिधै फाइनल पुगेकोले दुई दिनको ब्रेकपछि खेल्दैछ भने जनकपुरले एक दिनको आरामपछि मैदान उत्रँदैछ ।
सुदूरपश्चिम र जनकपुर फाइनल खेल्न मैदान उत्रँदा यी दुई टोलीबीचको केही रोमाञ्चक विशेषताहरु पनि छन् । मैदान शेख दाजुभाई (आरिफ र आसिफ) दुई फरक टिमबाट प्रतिस्पर्धा गर्दैछन् । मैदान बाहिर राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायके र जगत टमाटा टिमलाई जिताउन रणनीति बनाउँदैछन् । अनी सुदूर र जनकपुर एकै प्रतियोगतामा तेस्रो पटक आमने सामने हुँदैछन् ।
यसैगरी यी दुई टिम यस्ता टिम हुन् जसको समर्थक पनि सबैभन्दा धेरै छ । एनपीएलमै सबैभन्दा धेरै समर्थक हुने टोली सुदूरपश्चिम हो । सिंगो सुदूरपश्चिमको साथ सुदूरको टिमलाई छ । यस्तै जनकपुरको समर्थक पनि कम छैनन् । सम्भवत सुदूरपछि मैदानमा पुगेर समर्थन गर्नेमा जनकपुरकै समर्थक दोस्रोमा छ ।
यस्तै विषयले फाइनललाई अझै प्रतिस्पर्धातम्मक र रोमाञ्चक बनाउने अपेक्षा छ ।
सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी र जनकपुरका कप्तान आसिफ शेखले फाइनल खेलमा राम्रो क्रिकेट खेल्दै उपाधि जित्न प्रयास गर्ने बताएका छन् ।
तेस्रो भेट
एनपीएलको पहिलो संस्करणमै सुदूरपश्चिम र जनकपुरबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि लिग चरण र प्लेअफमा गरी यी दुई टोली दुई पटक खेलिसकेका छन् । दुवै खेलमा सुदूरपश्चिमले बाजी मारेको थियो ।
फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जित्ने लक्ष्यमा सुदूरपश्चिम छ भने जनकपुर दुई हारमा ब्रेक लगाउने लक्ष्यमा हुनेछ ।
लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो । जनकपुरले उत्कृष्ट बलिङ गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्दै १२.१ ओभरमै ५१ रनमा अलआउट भयो । एनपीएलकै यो सबैभन्दा कम स्कोर हो र कम बल खेलेको खराब कीर्तिमान पनि हो । जहाँ जोसुअ ट्रोम्पले १३ रन बनाउनु बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन् ।
यस्तै लिगमा शीर्ष दुईमा रहेपछि क्वालिफायर वानमा पनि यी दुई टोली भिडेका थिए । जसमा सुदूरले बाजी मार्दै २-० ले अघि रहेको छ । क्वालिफायर वान मा सुदूरले जनकपुरलाई ८ विकेटले सहजै पराजित गरेको थियो । जनकपुरले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिमले ९ बल अगावै २ विकेट मात्र गुमाएर १४१ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो ।
अब फाइनलसहित तेस्रो पटक यी दुई टोली भेट हुँदैछन् । जसमा सुदूरले ३-० बनाउला वा जनकपुरले यसअघिको दुई हारको बदला लेला हेर्न लायक हुनेछ ।
जनकपुरका कप्तान आसिफले बदला लिने बारे नसोचेको र राम्रो क्रिकेट खेल्ने बताए । ‘पछिल्ला हारको बदला लिनेभन्दा पनि आफुले उत्कृष्ट प्रदर्शन गर्ने हो । नतिजा जे भएपनि मैदानबाट बाहिर आउँदा सबैसँग जेजति छ त्यो सबैले आफ्नो बेस्ट दिएको महसुस हुनुपर्छ’ उनले भनेका छन् ।
सुदूरका कप्तान दीपेन्द्रले पनि जनकपुरलाई सहज टिमको रुपमा नलिने र योजना अनुसार फाइनल खेल्ने बताए । ‘जनकपुरको टिम पनि राम्रो छ, टफ नै हुन्छ । हामी जुन प्लानिङ गर्दै खेलिरहेका छौं त्यसैगरी फाइनलको लागि पनि तयारी गरिरहेका छौं’ दिपेन्द्रले भने ।
दिपेन्द्रले फाइनल खेलमा दबाब नलिइकन खेल्नुपर्ने र आफ्नो तर्फबाट बेस्ट दिनुपर्ने बताए । ‘फाइनल हो, जित र हार आफ्नो ठाउँमा छ । दुईमध्ये एक टिमले मात्र जित्ने हो फाइनल, आफ्नो तर्फबाट शतप्रतिशत दिनुपर्छ भन्ने कुरा हो’, उनले भने ।
यसैगरी जनकपुरका कप्तान आसिफले जित्नका लागि बेस्ट प्रदर्शन गर्नुपर्ने बताए । ‘जित्नु छ भने आफ्नो बेस्ट दिनुपर्छ, दुई खेल खेल्दा पनि बेस्ट दिएका छैनौं, शनिबारको खेलमा उत्कृष्ट खेल्ने प्रयास रहनेछ, कम्पिटेटिभ गेम हुनेछ’ उनले भने ।
उनले दुई खेलमा व्यहोरेको हारलाई सम्झनुभन्दा पनि राम्रो क्रिकेट खेल्ने र ब्याटिङमा देखिएको समस्या फाइनलमा सुधार्ने प्रयास रहने बताए । ‘पछिल्ला दुई खेलमा आफ्नो बेस्ट दिन सकेका छैनौं । आशा छ शनिबारको फाइनलमा हामी आफ्नो बेस्ट दिने कोसिस गर्ने छौं’, आसिफले थपे ।
टमाटा भर्सेस पुबुदु
मैदानमा खेलाडीहरुको प्रतिस्पर्धा एकातिर छँदै छ । अर्कोतिर मैदानबाहिर बसेर रणनीति बनाउने ‘गुरु’ हरुको पनि चर्चा छ । सुदूरका प्रशिक्षक जगत टमाटा र जनकपुरका प्रशिक्षक पुबुद दासानाकयले दुवै नेपाली क्रिकेटमा चर्चित प्रशिक्षक हुन् । दुवै नेपालको राष्ट्रिय टिम हेरिसकेका प्रशिक्षक हुन् । श्रीलंकन मुलका क्यानडियन पुबुदुले दुई पटक नेपालको राष्ट्रिय टिम सम्हालेका थिए भने पछिल्लो पटक नेपाल अमेरिका टुरमा हुँदा नेपाली टिमको मेन्टर थिए । संयोगवश त्यो टुरमा टमाटा पनि कन्सलट्यान्ट प्रशिक्षक थिए ।
पुबुदुलै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा टी२० विश्वकप खेलेको थियो । त्यसबेला पनि टमाटा कोचिङ स्टाफमै थिए । २०१६ मा यू१९ विश्वकपमा पनि यी दुई प्रशिक्षक सँगै नेपाली टिममा थिए । नेपाली क्रिकेटमा पुबुदुको आगमन एउटा टर्निङ प्वाइन्ट नै बनेको थियो ।
अर्कोतर्फ टमाटा नेपाली क्रिकेटमा सदाबाहर नाम हो । सिनियर पुरुष र महिला टिमदेखि जुनियर टिमसम्म हेरेका उनी सिनियर र जुनियर दुवै पुरुष टिमले विश्वकप खेल्दाका प्रशिक्षक हुन् । नेपालका सफल प्रशिक्षक अनी नेपाललाई ओडिआई मान्यता दिलाउने टिमका पनि प्रशिक्षक । नेपालको पहिलो राष्ट्रिय टिमका खेलाडी समेत रहेका टमाटा नेपाली क्रिकेटमा चर्चित नाम हो ।
पुबुद र टमाटालाई एक अर्काको बारेमा राम्रोसँग थाहा छ र दुवै गुरु रणनीति बनाउन पनि माहिर छन् । त्यसैले त दुवै प्रशिक्षकको टिम फाइनलमा छ । अब फाइनलमा कसले राम्रो रणनीति बनाएर आफ्नो टिमलाई च्याम्पियन बनाउनेछन् त्यो हेर्न बाँकी छ ।
शेख दाजुभाइको ‘राइभलरी’
दाजुभाइ नै एकै खेलमा लाग्ने बिरलै हुन्छन । तर आरिफ र आसिफ शेख अपवाद नै हुन् जसले नेपालको राष्ट्रिय टिमबाट पनि सँगै खेलिसकेका छन् । घरेलु फ्रेन्चाइज क्रिकेटमा पनि यी दाजुभाइले धेरै पटक सँगै खेलेका छन् । आफ्नो टिमलाई उपाधि दिलाउन सहयोग गरेका छन् र एकै टिमबाट ट्रफी उचालेका छन् ।
तर यसपटक एनपीएलमा भने फाइनलिस्ट दुई टिममा यी दाजुभाइ बाँडिएका छन् । भाइ आसिफले पछिल्लो दुई खेलयता जनकपुरको कप्तानी नै गरिरहेका छन् । उनी जनकपुरको मार्की खेलाडी पनि हुन् । उता दाइ आरिफ भने सुदूरपश्चिम टिममा छन् ।
घरमा दाजुभाइ भएपनि मैदानमा भने यी दुई खेलाडी प्रतिस्पर्धीकै रुपमा देखिएका छन् । शुक्रबार भएको प्रि-फाइनल मिटमा पनि जनकपुरका कप्तान आसिफले प्रोफेसनल भएपछि त्यही अनुसार खेल्ने बताए । उनले भने, ‘दाजुभाइ हामी घरमा हुन्छौँ । क्रिकेटमा आइसकेपछि निश्चय पनि प्रोफेसनल छौँ र कुनै पनि कुरा सेयर हुँदैन ।’
मैदानमा मात्र नभई घरमा पनि यी दाजुभाइ समर्थक फरक छन् । बुबाको समर्थन आसिफलाई छ भने आमाको समर्थन आरिफलाई छ । बुबा आमाले दुई दाजुभाइको फरक जर्सी लिएर खिचाएको फोटो पनि सामाजिक सञ्जालमा चर्चामा छ ।
दुई टिमको अवस्था र सम्भावित टोली
फाइनलअघि सुदूरपश्चिम प्राय उही टोलीलाई मैदान उतारेको छ । टिममा भएका ६ विदेशी खेलाडी नै खेलाएको सुदूरपश्चिमले नेपाली खेलाडी १२ मध्ये ९ जना मात्र प्रयोग गरेको छ ।
सुदूरपश्चिमले सुरुमा ३ विदेशी खेलाडी हुँदा चौथो विदेशीको सट्टा ट्यालेन्ट हन्टबाट आएका बसन्त खत्रीलाई पहिलो रोजाइमा खेलाएको थियो । यू१९ टोलीका उपकप्तान अर्जुन कुमाल, यू१९ राष्ट्रिय टिमका पूर्व सदस्य खडक बोहरा र घरेलु क्रिकेटमा सुदूरबाटै खेलेका भोजराज भाटलाई खेलाएको छैन । जसले गर्दा सुदुरपश्चिमले लगभग एउटै सेट जस्तो खेलाडीलाई प्रयोग गरेको छ ।
कप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, अविनाश बोहराले अहिलेसम्म खेलेका सबै ८ खेल खेलेका छन् । यस्तै नरेन साउदले ८, बसन्त खत्रीले २ तथा अमित श्रेष्ठले १ खेल खेलेका छन् ।
सुदूरपश्चिमले पछिल्लो दुई खेलमा एउटै टिम खेलाएको छ । त्यसैले पनि फाइनलमा त्यही टोलीलाई निरन्तरता दिने सम्भावना छ ।
यू१९ एसिया कपका कारण पहिलो खेल गुमाएका युवा स्पीनर नरेन साउदले त्यसयता सबै खेल खेलेका छन् । कर्णाली विरुद्ध लिग चरणको अन्तिम खेलमा घाइते हुँदा बलिङ नगरेपनि उनले क्वालिफायर वान खेलेका थिए ।
सुदूरपश्चिमका तीन विदेशी खेलाडी स्कट कुगेलेइन, ब्राण्डन म्याकमुलेन र सैफ अली जैबले सबै ८ खेल खेलेका छन् । लिगको बीचमा आएका दिलप्रित बाजवाले १ खेल खेले भने त्यसपछि आएका हरमित सिंहले पनि ४ खेल खेलिसकेका छन् ।
सम्भावित ११ :विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, हर्मित सिंह, स्कट कुगेलेइन, नरेन साउद, अविनाश बोहरा
यता जनकपुरले भने ट्यालेन्ट हन्टबाट आएका विशाल सुस्लिङ बाहेक ११ जनै नेपाली खेलाडी र ६ विदेशी खेलाडीलाई नै मैदान उतारिसकेको छ । अक्सनबाट अनुबन्ध भएका रुपेश सिंहले चोटका कारण खेल्न नपाएपछि उनको स्थानमा टिममा समावेश भएका मयन यादवले पनि १ खेल खेलिसके ।
कप्तान अनिल साहले चोटका कारण पछिल्लो दुई खेल खेलेनन् । मार्की खेलाडी आसिफ शेखसहित, किशोर महतो, ललित राजवंशी र शुभ कंसाकारले मात्र सबै ९ खेल खेलेका छन् । जनकपुरले पहिलो रोजाईमा धेरै खेलाडी परिवर्तन गर्दै आएको छ । अनिल साहले लिग चरणमा सबै ७ खेल खेले । यसैगरी शेर मल्लले ७, तुल बहादुर थापाले ३, हेमन्त धामी र आकाश त्रिपाठीले समान २ र मयन यादवले १ खेल खेलेका छन् ।
लिग चरणको अन्तिम खेलमा चितवन राइनोज विरुद्ध घाइते भएपछि नियमित कप्तान अनिल साहले बाँकी खेल गुमाएका थिए । उनको स्थानमा जनकपुरले यू१९ टिमका ओपनर आकाश त्रिपाठीलाई खेलाएको थियो । तर आकाशले आफ्नो ओपन गर्न भने पाएका छैनन् । यस्तै रुपेश सिंहको स्थानमा आएका मयन यादवले पनि क्वालिफायर टु मा पहिलो रोजाईँमा खेलेका थिए ।
यू१९ टिमका कप्तान मिडियम पेसर हेमन्त धामीले पनि धेरै खेल खेलेका छैनन् । शेर मल्ले क्वालिफायर टु मा जनकपुरलाई जिताउन विनिङ रन प्रहार गरेका थिए । सुरुवाती खेलहरुमा तुलबहादुर थापाले मौका पाएका थिए भने अलराउण्डर अरनिको यादवले पनि अवसर पाइरहेका छन् तर उनले अवसरलाई सदुपयोग गर्न सकेका छैनन् । टप अर्डरमा लाहिरु मिलान्थादेखि मिडल अर्डरमा विदेशी अलराउण्डरहरुमै जनकपुर निर्भर देखिएको छ ।
विशेषगरी पहिलो खेलपछि आएका जीमी नीशमले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यसैगरी अलराउण्डर हर्श थाकर र मोहम्मद मोहसिनले पनि बलिङ र ब्याटिङमा योगदान दिइरहेका छन् । लाहिरु मिलान्था विकेटकिपङ र टप अर्डरमा ब्याटिङ गरिरहेका छन् । यस बाहेक बेन माइक र जोसुअ ट्रोम्पले समान १ खेल खेलेका छन् ।
सुरुवाती चार खेल लगातार जित्दा राम्रो देखिएको जनकपुर टिम पछिल्लो खेलहरुमा भने एकरुपको प्रदर्शन गर्न चुकेको छ । फाइनलमा पनि जनकपुरले पहिलो रोजाइमा केही परिवर्तन गर्न सक्छ ।
टेकुले स्याम्पल लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखा परेको हो ।यसअघि गत १ असारमा एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।
यो समस्यामा सोडियम सेवन सीमित हुनुपर्छ । किनभने यसले तरल पदार्थ जम्मा गर्ने र उच्च रक्तचाप निम्त्याउन सक्छ, जुन बिरामीका लागि हानिकारक हुनसक्छ । त्यसैले सोडियमको मात्रा १ हजार ५०० मिलिग्राम प्रतिदिनमा सीमित गर्नुपर्छ । ताजा फलफूल र तरकारीहरू जस्ता सोडियम कम भएका खाना छनोट गर्नुपर्छ ।
देशभित्रका मेडिकल कलेजमा न्यून तलब, कामको सम्मान नहुने र सरकारी क्षेत्रमा दरबन्दी नखुल्ने जस्ता समस्याले नर्स वैदशिक यात्रामा बढी आकर्षित भइरहेका छन् । देशका ठूला, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका अस्पतालका नर्सहरू समेत न्यून पारिश्रमिकमा काम गरिरहेका छन् ।
कब्जियतको समस्या लिएर धेरै बिरामी आउँछन्। कतिपय १०-१२ दिनसम्म पनि दिसा नभएको समस्या लिएर आउँछन्। हामीले जाँच गरेर हेर्दा दिसा धेरै सुख्खा भइसकेको हुनाले सामान्य उपचारबाट कहिलेकाहीँ ननिस्किने हुन्छ र शल्यक्रिया नै गर्नुपर्ने अवस्था पनि आउँछ। कसैको आन्द्रा नै पुरै बटारीएको हुन्छ। त्यस्तै थाइराइडको समस्या छ भने पनि कसैलाई कब्जित हुन्छ भने कलेजोको समस्या, लामो समयदेखि औषधी खाइरहेका दीर्घ रोगीलाई कब्जियतको समस्या हुने सम्भावना धेरै हुन्छ।
प्रतिक्रिया दिनुहोस्