नेशनल मेडिकल कलेजबाट बशरुद्दिन आउट

गत शुक्रबार अध्यक्ष जैनुद्दिनले आफना छोरा शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि विवाद झन् बढेको हो ।

सम्वादाता | २०८० फागुन १३ गते १७: २८ मा प्रकाशित

वीरगन्ज– वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको सम्पति भागबण्डाको विषयलाई लिएर अन्सारी दाजुभाई बिचको विवाद थप छताछुल्ल भएको छ ।
मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारी र उनका सांहिला भाई बसरुद्दिन अन्सारीबिच मेडिकल कलेजको जायजेथाको भागबण्डाको विषयलाई लिएर केहि महिनादेखि चल्दै आएको विवाद अहिले छताछुल्ल भएको हो । अध्यक्ष जैनुद्दिनले मेडिकल कलेजको प्रबन्ध निर्देशक (एमडी)बाट बसरुुद्दिनलाई पदच्यूत गरेर आफनै छोरा शाहनवाज अन्सारीलाई एमडीमा नियुक्त गरेपछि दुई दाजुभाईबिचको विवाद झन चर्किएको छ ।
गत शुक्रबार अध्यक्ष जैनुद्दिनले आफना छोरा शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि विवाद झन् बढेको हो । शाहनवाजलाई एमडीमा नियुक्त गरिएको निर्णय विभिन्न माध्यमबाट सार्वजनिक भएपछि बसरुद्दिनले भने मेडिकल कलेजको एमडी आँफू नै यथावत रहेको र अध्यक्षपनि बनेको भन्दै सामाजिक सञ्जाल मार्फत प्रचारबाजी गरेका छन् ।
त्यसपछि आइतबार अध्यक्ष जैनुद्दिनका छोरा तथा मेडिकल कलेजका नवनियुक्त एमडी शाहनवाजले पत्रकार सम्मेलन गरेर मेकिडल कलेजका बारेमा बसरुद्दिनले फिजाँएको हल्ला भ्रामक रहेको दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा शाहनवाजले मेडिकल कलेजको सञ्चालक समितिले यहि फागुन ४ गतेदेखि लागु हुने गरि आँफुलाई एमडीमा नियुक्त गरेको दाबी गरे । फागुन ४ गते सम्पन्न मेडिकल कलेजको वार्षिक साधरण सभाले संस्थापक अध्यक्ष जैनुद्दिन अन्सारीकै अध्यक्षतामा तीन सदस्यिय सञ्चालक समिति गठन गरेको उनले बताए । वाषिर्क साधररण सभाले सञ्चालक अध्यक्षमा जैनुद्दिन अन्सारी, प्रबन्ध सञ्चालकमा आँफुलाई र सञ्चालकमा नुशरत जहान अन्सारीलाई नियुक्त गरेको शहनवाजले जानकारी दिए । नुशरत , अध्यक्ष जैनुद्दिनकै छोरी हुन् ।
पत्रकार सम्मेलनमा शाहनवाजले यसअघिका एमडी बसरुद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि सञ्चालक समितिले उनलाई एमडी पदबाट हटाएको प्रष्टिकरणपनि दिए । उनले भने,‘कानूनी रुपमा एक जना मात्र सञ्चालक समितिमा रहने व्यवस्था भएपनि कामको बोझले अध्यक्षले बसरुद्दिन अन्सारीलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिनु भएको् थियो । तर केहि समयदेखि उनको कार्य सञ्चालनमा कैफियत देखियो । अध्यक्षले उनलाई पटक पटक सचेतपनि गराएका थिए । तर त्यसका बाबजुदपनि सुधार नआएपछि अध्यक्षले अन्सारीको अधिकार कटौती गर्दै जानु भएको हो । अहिले मेडिकल कलेज प्रालिमा बसरुद्धिनको १० प्रतिशतमात्र शेयर लगानी छ । त्यो बाहेक यस मेकिडल कलेजसंग उनको कुनै साइनो छैन ।’
मेकिडल कलेजको एमडीबाट हटाएप्छि बसरुद्दिनले अध्यक्ष जैनुद्दिनलाई ज्यान मार्ने धम्कीसमेत दिएको शाहनवाजले आरोप लगाए ।धम्की आएपछि अध्यक्ष जैनुद्दिनले जिउज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दर्तासमेत गराइसकेको पत्रकार सम्मेलनमा शाहनवाजले बताए । उनले भने,‘ बसरुद्दिनले ज्यान मार्ने सम्मको धम्की दिदैं आएकोभएपनि स्थानीय प्रशासनले केहि सुनुवाई अहिलेसम्म गरेको छैन ।
२०५६ साल भदौं ३२ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आएको नेशनल मेडिकल कजेज तथा शिक्षण अस्पतालको अध्यक्ष सुरुदेखि नै जैनुद्दिन अन्सारी छन् । शाहनवाजका अनुसार, सुरुमा मेकिडल कलेजमा जैनुद्दिनको ९० प्रतिशत र उनका साँहिलो भाई बसरुद्दिनको १० प्रतिशत शेयर थियो । तर गत साउन २६ गते सम्पन्न साधरणसभाले अध्यक्ष जैनुद्दिनकै छोराछोरीहरुलाई राखेर शेयरधनीहरु थपेको थियो ।जसअनुसार अब अध्यक्ष जैनुद्दिनको ४५ प्रतिशत,उनका छोरा शहनवाजको १५ प्रतिशत, छोरीहरु नुशरत जहानको १० प्रतिशत,निकहत यासमिनको १० प्रतिशत,इशंत जहानको १० प्रतिशत र साँहिलो भाई बसरुद्दिनको १० प्रतिशत शेयर रहेको पत्रकारसम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तर अध्यक्ष जैनुद्दिनका भाई बसरुद्दिनले भने मेडिकल कलेजको एमडी अहिलेपनि आँफू नै भएको दाबी गरे । उक्त पदबाट आँफुलाई कसैलेपनि नहटाएको दाबीपनि उनको छ । मेडिकल कलेजको दर्ता, स्थापना , अदालतमा मुद्धा लड्ने लगायतका सबै काम आँफुले नै गरेर २५ वर्षदेखि मेडिकल कलेज चलाउँदै आएको उनले बताए ।
उनले भने,‘कलेज स्थापनका बेला दाजु जैनुद्दिन आँफैले आधा आधा साझेदारी रहने भनेर मौखिक सहमति गर्नु भएको थियो । बुबा सरहको दाजुले भनेको कूरामा मैले भरोसा गरे । तर अहिले आएर उहाँका छोरा छोरी पढेलेखेर आएपछि मलाई नै पाखा लगाउने काम उहाँले गरिरहनु भएको छ ।यो सरासर बेइमानी हो । धोखा हो ।
वीरगन्जको नेशनल मेडिकल कलेजमात्र नभइ काठमाडौं मडिकल कलेज र नेपाल मेडिकल कलेज गरी तीन्वटा संस्थामा दाजुभाईको हिस्सेदारी रहेको भन्दै बसरुद्दिनले भने,‘ यी तीनवटै जायजेथाको अहिलेको चलनचल्तीको भाउ मुल्यांकन गरेर दूई दाजुभाईले बराबर बाँडौ भन्ने मेरो माग हो । तर दाजुमा बेयमाइनी देखिएको छ ।’
उनले दूई दाजुभाई बिचको विवादलाई आँफुले थप चर्काउन नचाहेकोपनि बताए । उनले भने,‘ गाँउसमाजमा बसेर दूई दाजुभाईको मनमुटाव सल्टाउँ भनेर मैले दाजुलाई भन्दै आएको छु ।’ज्यान मार्ने धम्की दिएको बारेमा प्रश्न गर्दा बसरुद्दिनले त्यसमा कुनै सत्यता नभएको जिकिर गरे । उल्टै मलाई दाजुका आफन्तहरुले मार्ने धम्की दिइरहेका मधेशखबरले प्रकाशित गरेको छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्