जिससको निर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित : एमाले र जसपा ,एकातिर कांग्रेस र लोसपा गठबन्धन

प्रमुख र उपप्रमुखसहित ९ सदस्यका लागि २७ जेठमा हुने निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेको छ भने सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ ।

सम्वादाता | २०७९ जेठ २५ गते १८: ३३ मा प्रकाशित

वीरगञ्ज-पर्सामा जिल्ला समन्वय समिति (जिसस) को निर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ । प्रमुख र उपप्रमुखसहित ९ सदस्यका लागि २७ जेठमा हुने निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादी पार्टीसँग मिलेको छ भने सत्तारुढ गठबन्धनमै रहेको जनता समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेको छ । निर्वाचनबाट जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुख, ३ महिला सदस्य, १ जना दलित वा अल्पसंख्यक सदस्य र अन्य ३ जना सदस्य गरी ९ जना छानिनेछन् । प्रमुख पदका लागि जसपा र कांग्रेसको उम्मेदवारी परेको छ । उपप्रमुखमा कांग्रेस र एमालेको उम्मेदवारी परेको छ । कांग्रेसले जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्य सरोज चौरसियालाई जिसस प्रमुखको उम्मेदवार बनाएको छ भने जसपाले वीरगञ्ज–१५ का वडा सदस्य निरञ्जन साह सोनार (अजय सर्राफ) लाई अघि सारेको छ । उपप्रमुखका लागि कांग्रेसले वीरगञ्ज–९ कि वडा सदस्य कुमारी सोनी पासवानलाई उम्मेदवार बनाएको छ भने एमालेले बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई उम्मेदवार बनाएको छ । ३ जना महिला सदस्यका लागि कांग्रेसबाट ३ जना, जसपाबाट २ र एमालेबाट एक जनाको उम्मेदवारी परेको छ । १ जना दलित वा अल्पसंख्यक सदस्यका लागि एमाले र लोसपाको उम्मेदवारी परेको छ । ३ जना अन्य सदस्यका लागि कांग्रेसले ३ जनाकै मनोनयन दर्ता गराउँदा एमालेले २ र जसपाले १ जना उम्मेदवार बनाएको छ । बुधबार उम्मेदवारको सूची सार्वजनिक र दावी विरोधको कार्यक्रम छ । जेठ २७ गते जिसस पर्साको निर्वाचन गर्नेगरी प्रक्रिया अघि बढाइएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्