पर्सा कांग्रेसका यी ३ नेता जो गठबन्धन भए संसदीय चुनावमा लड्न पाउदैनन 

कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, संविधान सभा सदस्य अनिल रुंगटा र पूर्व मन्त्री सुरेन्द्र चौधरी पर्साको आफ्नो निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्नबाट बञ्चित हुनु पर्ने देखिन्छ ।

सम्वादाता | २०७९ जेठ २१ गते ०८: ५५ मा प्रकाशित

वीरगन्ज– संसदीय निर्वाचनमा वर्तमान ५ दलीय सत्ता गठबन्धन कायम रहे पर्साका कांग्रेसका तीन जना प्रभावशाली नेता आफ्नो क्षेत्रबाट प्रत्यक्ष तर्फबाट उम्मेदवार हुनबाट बञ्चित हुने देखिन्छ । स्थानीय तह निर्वाचन सम्पन्न भए लगत्तै दलहरुले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको तयारी सुरु गरेका छन् । गठबन्धनका शीर्ष नेताहरुको अभिव्यक्ति सुन्दा दलहरुले यही गठबन्धनलाई निरन्तरता दिन चाहेको देखिन्छ । गठबन्धनले निरन्तरता पाउँदा प्रतिनिधी सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमा पाँच दलले भाग लगाउने निश्चित छ । 

अघिल्लो निर्वाचनमा गठबन्धनको जुन पार्टीले जहाँ जितेको हो त्यही उठ्ने र नेकपा एमाले वा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतले जितेको क्षेत्र बाँडफाँड गर्ने भनिएको छ । यो मोडेलमा जाँदा कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, संविधान सभा सदस्य अनिल रुंगटा र पूर्व मन्त्री सुरेन्द्र चौधरी पर्साको आफ्नो निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन लड्नबाट बञ्चित हुनु पर्ने देखिन्छ । यस अघिको निर्वाचनमा पर्सा क्षेत्र नं. एक, दुई, तीन मा तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका थिए भने क्षेत्र नं ४ मा तत्कालिन राजपाका उम्मेदवार विजयी भएका थिए । राजपाका लक्ष्मणलाल कर्ण हाल लोसपामा रहेका छन् । 

संविघान सभा सदस्य रुंगटाको निर्वाचन क्षेत्र नं. १ हो, केन्द्रीय सदस्य चौरसियाको २ नं. क्षेत्र हो भने पूर्व मन्त्री चौधरीको निर्वाचन क्षेत्र नं. ३ हो । यी तीनै जना नेता अघिल्लो निर्वाचनमा पराजित भएका थिए । मंसिरमा हुने भनिएको निर्वाचनमा ५ दलीय गठबन्धन कायम रह्ने हो भने रुंगटा, चौरसिया र चौधरीले प्रत्यक्ष तर्फबाट प्रतिनिधी सभाको निर्वाचनमा लड्न पाउने छैनन् । तीनवटै निर्वाचन क्षेत्र हालको जनता समाजवादी पार्टी (जसपा) को भागमा पर्ने देखिन्छ । यसअघिको चुनावमा क्षेत्र नं. १ बाट प्रदीप यादव, २ नं. बाट विमल श्रीवास्तव र ३ नं. बाट हरिनारायण रौनियार विजयी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्