बालबालिकाको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने प्रधानाध्यापकहरुको प्रतिबद्धता

पर्सागढी नगरपालिका मातहतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले बालबालिकाको शैक्षिक गुणस्तरसँगै क्षमता अभिवृद्धिका बारेमा चिन्ता व्यक्त गरेका छन् ।

सम्वादाता | २०७९ जेठ २० गते १९: ४५ मा प्रकाशित

वीरगञ्ज - पर्साको पर्सागढी नगरपालिका मातहतका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले बालबालिकाको शैक्षिक गुणस्तरसँगै क्षमता अभिवृद्धिका बारेमा चिन्ता व्यक्त गरेका छन् । गैरसरकारी संस्था युवालयले आयोजना गरेको परियोजना परिचयात्मक कार्यक्रममा सहभागी प्रधानाध्यापकहरुले बालबालिकाको मनोसामाजिक बुझेर शिक्षण सिकाई सञ्चालन गर्ने प्रवृतिको बिकास गर्नुपर्नेमा जोड दिएका छन् ।
पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरको वडा कार्यालयस्थित सभा कक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय माद्यामिक विद्यालय बहुअर्वासिराका प्रधानाध्यापक रामाशिष यादवले दिगो रुपमा कार्यन्वयन हुने गरी परियोजना सञ्चालन गर्नुपर्ने धारणा राखेका छन् । नेपाल राष्ट्रिय आधारभुत विद्यालय टिकुलियाका प्रधानाध्यापक जयनारायण प्रसाा साहले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि शिक्षकको मात्रै नभएर अभिभावकको पनि महत्वपूर्ण भूमिका हुने आवश्यक्ता औँल्याए । विद्यालयले बालबालिकाको व्यक्तित्व बिकासका निम्ती गरीरहेका गतिविधिले पनि सन्तोषजनक उपलब्धी नभएको हरपुरस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक बिन्दा कुमार दासले स्विकार गरे ।
वर्वाछटैली विद्यालयका प्रधानाध्यापक रामबहादुर चौधरीले विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापहरु कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै बढावा दिनुपर्नेमा जोड दिए । जनता मावि पकडिया बढनिहारका सहायक प्रधानाध्यापक डिल्लीराम आचार्यले शिक्षकहरुको लागि प्रशिक्षण एवम् तालिम सञ्चालन गनुपर्ने माग गरेका छन् । विद्यार्थीको मनोभाव बुझेर अध्यापन गराउने शिक्षकको कमीले विद्यार्थी मानसिक तनावमा गुज्रिरहेको हुँदा शिक्षकलाई तालिम एवम् प्रशिक्षण गराउनुपर्ने आचार्यको भनाई छ ।
युवालयका कार्यकारी निर्देशक सञ्जिव अधिकारीले परियोजनाको उद्देश्य बारे प्रकाश पार्दै समतामुलक समाज निर्माणका लागि युवालाई परिचालन गरेर बालबालिकालाई सही मार्गमा डो¥याउनुपर्ने धारणा राखे । बालबालिकाको क्षमता अभिवृद्धि बिना देशले सही भविष्य पाउन नसक्ने हुँदा सुरक्षासँगै अधिकारको प्रत्याभुती दिलाएर पठनपाठन गराई उनीहरुले खोजेको जस्तो वातावरण निर्माणमा सघाउन परियोजना सहयोगी सावित हुने अधिकारीको विश्वास छ ।
युवालयकी व्यवस्थापक एवम् बित्तिय प्रमुख नितु डंगोलले सरकारले नै जारी गरेका निर्देशन एवम् नीतिलाई कार्यन्वयन गराउने मध्यस्कर्ताको रुपमा संस्थाले भूमिका खेल्ने बताइन् । हरेक विद्यालयमा गठन भएका बालक्लबलाई सक्रिय र सबल बनाउनुका साथै नभएका ठाउँमा गठन गरेर उनीहरुलाई जिम्मेवार बनाउन युवालयले हरसम्भव प्रयास गर्ने उनको भनाई छ ।
यसअघि पनि पर्सागढी नगरपालिकाले बालबालिकाको क्षेत्रमा विभिन्न गतिविधि गरीरहेको हुँदा त्यसैलाई निरन्तरता दिन र केही थप गर्नका लागि पर्सागढी युवालयको रोजाईमा परेको युवालयका अध्यक्ष सन्तोष महर्जनले बताए । बालबालिकालाई सक्षम बनाउने र बालक्लबलाई सबलीकरण गरेर बालबालिकाको हकहितका लागि आवाज उठाउन जिम्मेवार बनाउने अभियानमा सहकार्य गर्न प्रधानाध्यापकहरुलाई अध्यक्ष महर्जनले आग्रह गरेका छन् । उनको आग्रहबमोजिम प्रधानाध्यापकहरुले पनि बालबालिकाको सकारात्मक परिवर्तन र बिकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सञ्चारकर्मी सूर्यनारायण वि।क।ले सहजीकरण गरेको कार्यक्रममा वडा नम्बर ८ की वडाअध्यक्ष सुन्दरीदेवी थरुनी, नेपाल राष्ट्रिय मावि बडेर्वाका सहायक शिक्षक हरेराम प्रसाद दास, राहुल साह लगायतको उपस्थिती रहेको युवालयका साधारण सदस्य बिकास साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्