वीरगन्ज महानगरको कार्यपालिका निर्वाचनका लागि लुकाइएका जनप्रतिनिधी सवारी दुर्घटनामा घाइते

घाइते हुनेमा अधिकांश जसपाबाट विजयी भएका जनप्रतिनिधी रहेका छन् ।

सम्वादाता | २०७९ जेठ २० गते १०: ५७ मा प्रकाशित

वीरगन्ज– मकवानपुरको गढी गाउँपालिकाको जिपलाइन स्थित कान्तिलोकपथ सडक खण्डमा आज विहान सवारी दुर्घटना हुँदा वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधी घाइते भएका छन् । आज शुक्रबार हुने वीरगन्ज महानगरपालिका कार्यपालिका सदस्यको निर्वाचनका लागि विगत ३ दिनदेखि मकवानपुरको होटलमा लुकाएर राखिएका जनप्रतिनिधी सवारी दुर्घटनामा परी घाइते भएका हुन् । घाइते हुनेमा अधिकांश जसपाबाट विजयी भएका जनप्रतिनिधी रहेका छन् ।
इलाका प्रहरी कार्यालय गढीका अनुसार शुक्रबार विहान साढे एक बजेको समयमा गढी गाउँपालिका वडा नम्बर २ जिपलाईन स्थित कान्तिलोकपथ सडक खण्डमा जिपलाइनबाट गढीतर्फ आउँदै गरेको ना४च ६४३६ नं. को बोलेरो पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको थियो । बोलेरोका चालक वीरगन्ज २० बस्ने भानु यादव फरार रहेका छन् । घाइते हुनेहरुमा वडा २० का श्रवण यादव, वडा ३२ का मनोज यादव, वडा २४ बस्ने सन्त यादव, सद्दाम हुसैन, वडा २५ का जग्दिस साह, वडा ३२ बस्ने पुजा राम र वडा २९ बस्ने धर्मेन्द्र महतो रहेका छन् । जनता समाजवादी पार्टीबाट वीरगन्ज वडा नं. ३० को वडाध्यक्षमा विजयी भएका मनोज यादवको अनुहार र दाहिने कुममा चोट लागेको छ । उनको अवस्था मध्यम जनाइएको छ । मकवानपुर प्रहरीका अनुसार घाइेतको पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारका लागि रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्