पोखरिया नगरपालिकाको विकासको लागि सर्वदलीय समिति जनकपुरमा

प्रदेश सरकारको अगामी नीति तथा कार्यक्रम र बजेटमा पोखरिया अस्पतालर्ला ५० बेड सहित जिल्ला अस्पताल बनाउने रकम विनियोजन गरिने

सम्वादाता | २०७९ जेठ २० गते १०: १६ मा प्रकाशित

वीरगन्ज– पर्साको पोखरिया नगरपालिकाको चौतर्फी विकासका लागि पोखरिया नगरपालिकाको नेतृत्वमा सर्वदलीय समितिको डेलिगेशन जनकपुर पुगेको छ । कार्यालय स्थापना संघर्ष समिति तथा पोखरिया नगरपालिकाको संयुक्त बैठकले पोखरिया अस्पताललाई ५० बेड सहित जिल्ला अस्पताल बनाउन डेलिगेशन जाने निर्णय गरेको थियो । पोखरियाबाट गएको टोलीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी, सामाजिक विकास मन्त्री, अर्थ मन्त्री, भौतिक निर्माण मन्त्री, उर्जा मन्त्री, वन मन्त्री, विभिन्न मन्त्रालयका सचिवसँग भेट गरेको छ ।

प्रदेश सरकारको अगामी नीति तथा कार्यक्रम र बजेटमा पोखरिया अस्पतालर्ला ५० बेड सहित जिल्ला अस्पताल बनाउने रकम विनियोजन गरिने आश्वासन टोलीले पाएको संघर्ष समितिका नेजामुद्दिन समानीले बताए । यसैगरि पोखरिया नगरपालिकामा सडक, स्कुल, अधुरो बर्थिङ सेन्टर निर्माण, सडकको बीचमा रहेको पोल सार्ने काम, सिचाई, मर्कज लगायत निर्माणका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत पाएको उनले बताएका छन् । डेलिगेशनमा नगरप्रमुख प्रदुमन चौहान, प्रदेश सांसद प्रह्लाद गिरी, मन्जुर अन्सारी, कार्यालय स्थापना संघर्ष समितिका संयोजक नेजामुद्दिन समानी, पूर्व मेयर तथा कांग्रेसका नेता दिपनारायण रौनियार, एमालेका बिधान्चल ठाकुर, जसपाका राजु साह, सुशासन पार्टीका नौसाद आलम, वडाध्यक्ष लक्ष्मण साह, प्रमिन्द्र कुर्मी लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्