मधेसका विद्यार्थीलाई चाइना एड र यूएनडीपीको सहयोग

यसबाट १५ हजार विद्यार्थी र ७ हजार ५ सय परिवार लाभान्वित हुनेछन् ।

सम्वादाता | २०८१ बैशाख २९ गते १८: १९ मा प्रकाशित

सर्लाही– चाइना एड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० ले मधेस प्रदेशका विद्यार्थीलाई सहयोग गरेका छन् । महामारी रोकथाम र हरित प्रवर्द्धनका लागि विकट क्षेत्रका विद्यालय र समुदायलाई सहयोग गर्ने विशेष परियोजना अन्तर्गत यस्तो सहयोग गरिएको ती संस्थाले जनाएका छन् ।
बिहीबार सर्लाहीको वरहथवा नगरपालिकामा यो कार्यक्रम अनावरण गरिएको छ । यसले सर्लाही र रौतहटका २५ वटा सरकारी स्कुलका विद्यार्थीलाई सहयोग गर्ने लक्ष्य राखेको छ । यसबाट १५ हजार विद्यार्थी र ७ हजार ५ सय परिवार लाभान्वित हुनेछन् । बिहीबार बरहथवामा कार्यक्रम अनावरण गर्दै मधेस सरकारका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले कार्यक्रममार्फत नयाँ परियोजना यस क्षेत्रमा ल्याएकामा आभार प्रकट गरे । यो कार्यक्रमले नेपालको विकासमा टेवा पुग्ने उनले बताए ।
कार्यक्रममा विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको थियो। कार्यक्रममा चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए । उनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) परियोजनाले नेपाल र अन्यत्र पनि ठूलो योगदान गरेको बताए । उनले मधेसमा दुई मुख्य परियोजना स्वच्छ खानेपानी र उज्यालो गाउँको घोषणा समेत गरे ।
बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले यो सहयोगले स्थानीयलाई लाभ पुग्ने बताइन् । यूएनडीपी नेपालकी उपआवासीय प्रतिनिधि जुलियन चेभिलार्डले शिक्षा र हरित प्रवर्द्धनमा गरिने लगानी जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्न प्रभावकारी हुने र दिगो विकास लक्ष्य प्राप्तिमा समेत भूमिका खेल्ने बताइन् ।
पछिल्लो परियोजना चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)ले कार्यान्वयन गरेको हो । यसको अनुसन्धान वर्ल्ड एजुकेसनले गरेको थियो । सीएफआरडीका अन्तर्राष्ट्रिय विकास विभागका निर्देशक वु पेङले आफ्नो संस्थाले ७ प्रदेशका ६० जिल्लामा सहयोग गरेको बताए ।
पछिल्लो सहयोगअनुसार विद्यालयमा डेस्क, टेबल र बुक र्याकलगायत सामग्री सहयोग गर्नेछ । ( साभार/ नेपालखबर )

प्रतिक्रिया दिनुहोस्