विगत एक महिनादेखि आतंक मचाएको बाघ नियन्त्रणमा

सखुवाप्रसौनी र पटेर्वासुगौली गाउपालिकाका राष्ट्रिय वनसग नजिक रहेका गाउमा विगत एक महिनायता बाघले आतंक मच्चाएको थियो ।

सम्वादाता | २०८० चैत १ गते १७: ३७ मा प्रकाशित

वीरगन्ज– विगत एक महिनादेखि पर्सामा आतंक मच्चाउदै आएको एउटा बाघ नियन्त्रणमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जको र पर्सा निकुञ्जको प्राविधिक टोली पछिल्लो १० दिनदेखि तीनवटा हात्तीमा बाघ नियन्त्रणका लागि खटिएका थिए । बिहीबार दिउसो प्राविधिक टोलीले भाले पाटे बाघलाई डाट प्रहार गरि बेहोश पारि नियन्त्रणमा लिएको हो ।   

सब डिभिजन वन कार्यालय रगंपुरका प्रमुख कपिलदेव यादवका अनुसार दुबै निकुञ्जका प्राविधिक र वन कार्यालय पर्साको संयुक्त टोलीले सखुवाप्रसौनी गाउपालिका –२ स्थित उखुबारीबाट सो बाघलाई डाट प्रहार गरि नियन्त्रणमा लिएको हो । सखुवाप्रसौनी र पटेर्वासुगौली गाउपालिकाका राष्ट्रिय वनसग नजिक रहेका गाउमा विगत एक महिनायता बाघले आतंक मच्चाएको थियो ।

बाघको आक्रमणबाट एक जनाको मृत्यु समेत भइसकेको छ भने एकजना घाइते भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ । वन क्ष्ँेत्र नजिकका गाउमा दर्जनभन्दा बढी चौपाया पनि बाघले मारेको छ । डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त प्रसाद साहले बाघ नियन्त्रणका लागि दुबै निकुञ्जका १० जना प्राविधिक र वनका ५ जना गरि कूल १५ जनाको टोली तीनवटा हात्तीमा १० दिनदेखि खटिएका थिए ।

बाघ बस्ने सम्भावित क्षेत्रमा सिसिटिभी समेत जडान गरिएको उनले जनाए । बुधबार राति सिसिटिभीमा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउसो उखुबारीमा बाघ बसेको अवस्थामा फेलापरेपछि डाट हानेर बेहोश पारिएको साहले बताए । दुईवटा बाघले आतंक मच्चाउदै आएका थिए । जसमध्ये एउटा भाले बाघ बिहिबार नियन्त्रणमा आएको साहले बताए । नियन्त्रणमा आएको बाघलाई गाडीमा राखेर चितवन राष्ट्रिय निकुञ्जको टोलीले लिएको गएको उनले जनाए । 

प्रतिक्रिया दिनुहोस्