विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरी बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीद्दारा ३ जना पक्राउ

विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरी बेचबिखन गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले ३ जनालाई पक्राउ गरेको छ

सम्वादाता | २०७९ जेठ १६ गते १९: ३९ मा प्रकाशित

वीरगञ्ज – विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरी बेचबिखन गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ्को कटहरी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार साह, जुम्लाको हेमा गाउँपालिका वडा नम्बर ३ जोगीवडा स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फूलबारी टोलमा बस्ने ३५ वर्षीय हरिश्चन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ की ४२ वर्षीय लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन् ।

काठमाण्डौ बस्ने २५ वर्षीय युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर जेठ ५ गते वीरगञ्ज बोलाई बसपार्कस्थित होटलमा लिया सुरजले पटक पटक करणी गरेर जेठ ९ गते कार्की होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएको प्रहरीले जनाएको छ । जेठ १० गते लक्ष्मीले हरिश्चन्द्रनाथको साथमा युवतीलाई पठाएको अनुसन्धानको क्रममा खुलेको छ ।

हरिश्चन्द्रनाथले युवतीलाई आफ्नो कोठामा लगी मानसिक र शारिरीक यातना दिएर पटक पटक जबरजस्ती करणी गरेर कोठामै बन्धक बनाएर राखेको प्रहरीद्वारा जारी प्रेस नोटमा उल्लेख छ । जेठ १४ गते राति मौका छोपेर युवती उक्त स्थानबाट भागेर आफन्तको सम्पर्कमा आएकको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

घटनाको विवरण प्राप्त भएपश्चात वीरगञ्जका विभिन्न स्थानबाट पक्राउ गरी जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्