आरक्षणको विरोधमा बंगलादेश बन्द

सम्वादाता | २०८१ सावन ४ गते ०७: ०० मा प्रकाशित

 काठमाडौं । सरकारी जागिरमा आरक्षणको विरोध गर्दै बंगलादेशमा सुरु भएको आन्दोलन अझै रोकिएको छैन ।

आन्दोलनकारीले आज बंगलादेश बन्द आह्वान गरेका छन् । प्रदर्शनकारीले अस्पताल, एम्बुलेन्स लगायत अत्यावश्यक सेवालाई मात्र सन्चालन हुन दिएका छन् ।

विरोध प्रदर्शनको क्रममा ६ जनाको मृत्यु भइसकेको छ । चार सय भन्दा धेरै घाइते भएका छन् । बुधबार बेलुकी पनि राजधानी ढाकामा प्रदर्शन भएको थियो । प्रदर्शन नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले जनाएको छ ।

स्थिति नाजुक बन्दै गएपछि राजधानी ढाकासहित विभिन्न शहरहरुमा अनिश्चितकालका लागि शिक्षण संस्था बन्द गरिएको छ ।

सन् १९७१ को मुक्ति युद्धमा लडेका सैनिकका सन्तानलाई सरकारी नोकरीमा आरक्षण दिइएको विरोधमा प्रदर्शन हुँदै आएको छ ।

एक हप्ता अगाडि सर्वोच्च अदालतले सरकारी नोकरीमा आरक्षणको व्यवस्थामा रोक लगाइदिएको थियो । तर प्रधानमन्त्री शेख हसिनाले त्यसलाई कार्यान्वयन हुन नदिएको आरोप छ ।

बंगलादेशमा पाकिस्तानविरुद्ध १९७१ को युद्ध लडेकाहरुलाई युद्धका नायक भन्ने गरिन्छ । ती युद्ध नायकहरुका छोराछोरीहरुलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्था छ । साथै पिछडिएको क्षेत्र र महिलालाई १०÷१० प्रतिशत कोटा छुट्याइएको छ । यसैगरी अल्पसंख्यकलाई ५ र विकलाङ्गलाई १ प्रतिशत आरक्षणको व्यवस्था छ ।

अहिले प्रदर्शनमा उत्रिएकाहरुले यही आरक्षणको व्यवस्था खारेज हुनुपर्ने लगायतका माग अघि सारेका छन् । आरक्षणको खारेज गरी मेरिटका आधारमा नोकरी पाउनुपर्ने उनीहरुको माग छ ।

न्याय दिलाउने प्रधानमन्त्री शेख हसिनाको वचन

यसैबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राष्ट्रको नाममा सम्बोधन गर्दैै आन्दोलनरत पक्षलाई न्याय दिलाउने बताएकी छन् । साथै उनले प्रदर्शनमा ६ जनाको मृत्यु भएको घटनाबारे अनुसन्धान गर्न न्यायिक जाँच आयोग गठन गर्ने बताएकी छन् ।

हालसम्म भएको क्षतिप्रति दुःख व्यक्ति गर्दै उनले शान्ति सुव्यवस्था कायम राख्न र अराजकतालाई फाइदा पुग्ने गतिविधि नगर्न आह्वान गरेकी छन् । साथै उनले हत्यामा संलग्न र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने व्यक्तिलाई कठघरामा उभ्याउने घोषणा पनि गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्