युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसले नागरिकता दिने

सम्वादाता | २०८१ असार २८ गते १०: २५ मा प्रकाशित

काठमाडौं । युक्रेनविरुद्धको लडाइँमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने प्रक्रिया अघि बढाएको छ । बीबीसी हिन्दीका अनुसार एक परिवारले त रुसको नागरिकता लिन सहमति पनि जनाइसकेका छन् ।

भारत गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘रुस सरकारले मेरो खातामा ४५ लाख रुपैयाँ पहिले नै जम्मा गरिदिएको छ । १.३ करोड रुपैयाँ राहतमध्ये बाँकी रकम पछि दिने भनेका छन् । यसै महिनाको १५ वा २० तारिखमा बाँकी रकम पाउने आश छ ।’


अश्विन भाई मांगुकियाका छोरा हेमिलको २१ फेब्रुअरीमा भएको मिसाइल आक्रमणमा मृत्यु भएको थियो । उनी २३ वर्षका थिए । उनलाई एक एजेण्टले झुक्याएर त्यहाँ पुर्‍याएका थिए । एजेण्टले उनलाई रुसी सेनामा हेल्परको नोकरी दिलाउने आश्वासन दिएका थिए । तर हेमिललाई अरु भारतीय नागरिकहरुलाई जस्तै युक्रेनविरुद्धको लडाइँको अग्रमोर्चामा खटाइएको थियो ।

हेमिलका बुवा अश्विनले कपडा बजारमा मजदुरी गर्दछन् । उनले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘मैले कमाएको पैसा सबै खर्च भइहाल्छ । दोस्रो छोरोले साइबर सेक्युरिटी पढ्दै छ ।’


उनले रुसको नागरिकता स्वीकार गर्ने पनि बताएका छन् । किन ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘हाम्रो देशमा समस्या यो छ कि हामीले धेरै कमाउन सक्दैनौं । भ्रष्टाचारीको देश हो हाम्रो ।’

यसैगरी हैदरावादका मोहम्मद अफसानका दाजु मोहम्मद इमरानले पनि बीबीसी हिन्दीसँगको कुराकानीमा अफसानका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने भनेको छ । मोहम्मद इमरानले भनेका छन्, ‘कागजी प्रक्रियाका लागि रुस जानुपर्ने भएको छ । उनीहरुले अफसानकी श्रीमती र दुई बच्चालाई नागरिकता दिने भनेका छन् । अफसानका दुई वर्षको छोरा र एक वर्षकी छोरी छिन् ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सोमबार रुसको दुईदिने भ्रमणका लागि मस्को पुगेका थिए । त्यहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेर रुसी सेनामा भर्ती भएका भारतीय नागरिकहरुको सुरक्षाको विषयमा छलफल गरेका थिए ।

छलफलको क्रममा पुटिनले रुसी सेनामा भर्ती भएका भारतीयहरुलाई फर्काउन सहमति जनाएको भारतीय मिडियाहरुले लेखेका थिए । अहिले फेरि युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई राहत र रुसको नागरिकता दिने प्रक्रिया सुरु भएको खबरले भारतमा चर्चा पाइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्