सञ्जयलीला भन्सालीको ‘हीरामण्डी’ सिरिजको समीक्षा कस्तो छ ?

सम्वादाता | २०८१ बैशाख २१ गते ०९: ४५ मा प्रकाशित

काठमाडौं । बलिउड निर्देशक सञ्जयलीला भन्सालीको ओटीटी डेब्यु सिरिज ‘हीरामण्डी’ नेटफ्लिक्समा रिलिज भएसँगै समीक्षा आउन थालेको छ । आठ एपिसोडको प्रतीक्षित सिरिजमा अभिनेत्री मनिषा कोइरालाको शीर्ष भूमिका छ, जहाँ उनले मल्लिका जानको भूमिका निर्वाह गरेकी छन्।

भारत-पाक विभाजनअघिको कथा यसमा छ । लाहोरको शाही इलाका हीरामण्डीमा आधारित यो सिरिजमा प्रेम, शक्ति र स्वतन्त्रताको लडाइँ देखाइएको छ ।

सिरिजले लाहोरको शाही छिमेकी हीरामण्डीका यौनकर्मीको जीवनलाई चित्रण गर्छ । देशको स्वतन्त्रताको समयमा यौनकर्मी महिलाको जीवनशैली र उनीहरूको संघर्ष देखाउँछ । यो श्रृंखलाले तपाईंलाई त्यो समयमा लैजान्छ, जब भारत स्वतन्त्रताका लागि लडिरहेको थियो ।

मल्लिका जान बिना कुनै डर आफ्नो शासन चलाउँछिन्, तर एक दिन उनको पुरानो शत्रुकी छोरी फरीदान (सोनाक्षी सिन्हा)को आगमनसँगै तनावको वातावरण सिर्जना हुन थाल्छ ।

ब्रिटिश शासनबाट भारत स्वतन्त्रताको माग गर्दै क्रान्तिकारीले प्रदर्शन गर्दा सहर पनि अशान्त छ । मल्लिका जानकी छोरी बिब्बो जान (अदिती राव हैदरी) स्वतन्त्रता संग्राममा सामेल हुन्छिन् । यसैबीच मल्लिकाकी कान्छी छोरी आलमजेब (शरमिन सहगल) नवाब (राजा)का छोरा ताजदार (ताहा शाह बदुशा)सँग प्रेमको सपना देख्छिन् र हीरामण्डीबाट बाहिर जान चाहन्छिन् ।

समीक्षा कस्तो छ ?

समग्रमा यो वेब–सिरिजको समीक्षा मिश्रित छ । इण्डिन एक्सप्रेसको हेडलाइन छ– ‘आंशिक इतिहास, आंशिक मिथक, पूर्ण–सञ्जयलीला भन्साली ।’ सुभारा गुप्ता लेख्छिन्– ‘जब भन्सालीको नेटफ्लिक्स शोले सुनौलो पिंजडाभित्र थुनिएका ‘लाहोरकी रानीहरु’को भव्यतामा आफ्नो आँखा फर्काउँछ, तिनीहरूको सौन्दर्यको पछाडिबाट आउने गन्धको शो सबैभन्दा प्रभावकारी हुन्छ ।’

इण्डिया टुडेले सिरिजको प्रशंसा गर्दै मनिषाले करिअरकै उत्कृष्ट प्रस्तुति दिएको उल्लेख गरेको छ । तुषार जोशी लेख्छन्– ‘उनी भन्सालीको दर्शनमा आफूलाई समर्पण गर्छिन् र हरेकको धड्कनलार्ई पूर्णरूपमा पछ्याउँछिन् । सायद नारीहरूमाझ सबैभन्दा उत्कृष्ट लिखित चरित्र । कानमा झुण्डिएको हीराजस्तै उनी चम्किएकी छन् ।’

सोही समीक्षामा जोशी लेख्छन्– ‘यो उनको उत्कृष्ट काम नहुन सक्छ, तर यो समय जहाँ रिमेक र भीएफएक्स फिल्मको दबदबा छ, यस्तोमा कुनैपनि बजारका मापदण्डबाट दबाब नलिइकन भन्सालीले यो सिरिज बनाएका छन् ।’

इकोनोमिक टाइम्सको हेडलाइन छ– ‘नेटिजन्सले सञ्जयलीला भन्सालीको पिरियड ड्रामालाई मनमोहक दृश्यको रूपमा प्रशंसा गर्छन् ।’ द जुगरनाट लेख्छ– ‘हीरामण्डी सुन्दर तर अपूर्ण छ ।’

द हिन्दूस्तान टाइम्स लेख्छ– ‘भन्सालीको फराकिलो र चम्किलो ओटीटी डेब्यु उनकै फिल्मी जालहरुबाट मुक्त छ ।’

टाइम्स नाउले ३.५ स्टार रेटिङ दिंदै सिरिजमा मनिषाले उत्कृष्टतापूर्वक कमान्ड सम्हालेको तर कथा तन्काइएको लेखेको छ । कोइमोइले हेडलाइन लेखेको छ– ‘भन्सालीले आठ घण्टा लामो पुतलीको सेटजस्तै भव्य सिरिज त बनाए तर म अझै केही खोज्दै नियाल्दैछु ।’

कोइमोइका लागि तृषा गौर लेख्छिन्– ‘सञ्जयलीला भन्साली हीरामण्डीका रानीहरूका लागि सुन्दर संसारको सपना देख्न थाल्छन् तर उनी पूर्णरुपमा गलत समयमा ब्युँझिएका छन् ।’

उनी लेख्छिन्– ‘हीरामण्डीको प्रमुख समस्या भनेको स्वतन्त्रताको अव्यवस्थित विचार र यसलाई स्वतन्त्रता संग्रामसँग भ्रमित तुल्याउनु हो । हामी बुझ्छौं कि यी महिला निश्चित रूपमा स्वतन्त्रता चाहन्छन्, तर कथाले यसलाई पाँचौं वा छैटौं एपिसोडसम्म चित्रण गर्दैन ।’

समग्रमा, ‘हीरामण्डी’को समीक्षा मिश्रित छ । भारतीय मिडिया यो वेब सिरिजलाई व्याख्या गर्ने कुरामा विभाजित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्