मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी, तत्काल पक्राउ गर्न माग

केही समययता प्रसाईंले बैंकबाट लिएको ऋण नतिर्न आह्वान गरेका थिए भने मारवाडी समुदायविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ।

सम्वादाता | २०८० भदौ ४ गते १०: ०४ मा प्रकाशित

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रसाईंले गत साता एक अन्तरर्वार्तामा ‘मारवाडी समुदायले अर्थतन्त्र तहसनहस बनाएकोलगायतका अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर उनीमाथि कारबाहीको माग गर्दै नेपाल राष्ट्रिय मारवाडी परिषद्ले प्रहरीमा उजुरी दिएको हो ।

प्रसाईंमाथि मारवाडी समूदायको चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ । प्रसाईंले एउटै विषय एउटै कुरा पटक पटक विभिन्न सञ्चार माध्यममार्फत् प्रस्तुत गर्ने र मारवाडीले सबै सक्यो भन्ने अर्थहीन कुरा गरेर सामाजिक सद्भावलाई विथोल्न खोजेको भन्दै विरोध भइरहेको छ । 

प्रसाईले सो अभिव्यक्ति दिएपछि वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज महानगरपालिकाले विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरिसकेका छन् ।  केही समययता प्रसाईंले बैंकबाट लिएको ऋण नतिर्न आह्वान गरेका थिए भने मारवाडी समुदायविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए । मेडिकल व्यवसायी प्रसाईंले मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहस नहस बनाएको भन्ने जस्ता गैरजिम्मेवारपूर्ण सार्वजनिक अभिव्यक्ति दिएको भदै मारवाडी समुदायले त्यसको विरोध गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्