वीरगन्ज महानगरको बजेट ३ अर्ब २१ करोड ३५ लाख

लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैया विनियोजन गरिएको छ । 

सम्वादाता | २०८० असार ६ गते १८: १७ मा प्रकाशित

वीरगन्ज– मधेश प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख इम्तियाज आलमले बुधबार महानगरको १३ औ अधिवेशनमा अगामी आर्थिक वर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् ।

महानगरको १२ औ अधिवेशनले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार रुपैयाको बजेट ल्याएको थियो । अगामी आवका लागि बजेटको आकार घटेको छ ।  अगामी आवको कूल बजेटको ७७ प्रतिशत रकम चालु तर्फ र २२ प्रतिशत रकम पूजीगत तर्फ विनियोजन गरिएको छ । वित्तीय व्यवस्था तर्फ एक प्रतिशत बजेट छुट्याइएको छ ।

प्रस्तुत बजेटमा शिक्षा क्षेत्र सुधारका लागि १२ करोड २० लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १२ करोड रुपैया छुट्याएको छ । आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवम् विकेन्द्रित रुपले उपलब्ध गराउन ३ करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रको लागि ५९ करोड, स्वयम्सेवक शिक्षक कार्यक्रमका लागि ४ करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि एक करोड रुपैया विनियोजन गरिएको छ ।

लामखुट्टेमुक्त महानगर अभियानका लागि लामखुट्टेको लार्भा नियन्त्रण, बासस्थान नष्ट गर्न, औषधि छर्किने अभियानका लागि ३५ लाख रुपैया विनियोजन गरिएको छ ।  महानगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणबाट ४२ करोड ८८ लाख, राजश्व बाडफाडबाट २१ करोड १२ लाख, सशर्त अनुदानबाट ७५ करोड १६ लाख रुपैया प्राप्त हुने अनुमान गरेको छ ।

यसैगरि संघीय सरकारको वित्तीय हस्तान्तरबाट १ अर्ब ३३ करोड २१ लाख आउने अनुमान गरेको छ । प्रदेश वित्तीय हस्तान्तरबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजश्व बाडफाडबाट २ करोड ८७ लाख रुपैया र आन्तरिक राजश्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार संकलन हुने अनुमान बजेटमा गरिएको छ । महानगरको १२ औ अधिवेशनले चालु आवको लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट ल्याएको थियो । अगामी आवको लागि बजेट घटेर आएको छ । 

प्रतिक्रिया दिनुहोस्