दालको कन्टेनरमा आयात गरिएको विदेशी चुरोट नष्ट

जाँचपासका लागि खोल्दा ५८ लाख ३८ हजार ४ सय खिल्ली चुरोट बरामद भएको थियो

सम्वादाता | २०७९ भदौ २१ गते १७: ४९ मा प्रकाशित

वीरगन्ज– दुबईबाट मुङको दाल बोकेर आएको कन्टेनरबाट बरामद भएको ४ सय विदेशी चुरोट मंगलबार सुक्खा बन्दरगाह कार्यालयले नष्ट गरेको छ । भन्सार कार्यालयका कर्मचारी, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी र सशस्त्र प्रहरीको रोहवरमा चुरोट नष्ट गरिएको हो । हालसम्म आयातकर्ता सम्पर्क विहिन छन् । दुबईबाट भारत हुँदै सुक्खा बन्दरगाहमा आएको कन्टेनर गत असार १३ मा भन्सार कार्यालयका कर्मचारीले जाँचपासका लागि खोल्दा ५८ लाख ३८ हजार ४ सय खिल्ली चुरोट बरामद भएको थियो । काठमाडौँ टोखा स्थित कालिका इन्टरप्राइजेजले आयात गरेको उक्त कन्टेनर जाँचपासका लागि भन्सार प्रज्ञापनपत्रमा मुङ दाल घोषणा गरेको थियो ।

कन्टेनरको अगाडि पट्टि मुङको दाल र पछाडि पट्टि कन्टेनरबाट गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट करिब ४ सय कार्टुनमा राखिएको फेला परेको थियो ।  भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्युपानेले नेपालको कानुन अनुसार बिक्री गर्न नमिल्ने भएकाले विदेशी चुरोट नष्ट गरिएको हो । ‘नेपालको कानुन अनुसार चुरोटको बट्टामा ७५ प्रतिशत भागमा स्वास्थ्य मूलक जानकारी र तस्बिर हुनुपर्छ,’ उनले भने, ‘त्यस कारणले गर्दा हामी यो चुरोटलाई लिलाम बिक्री समेत गर्न सक्दैनौँ, त्यही भएर नष्ट गर्नुपरेको हो ।’

आयातकर्ता सम्पर्कमा नआएकाले उनीहरुलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिएको सूचना अधिकृत न्युपानेले जनाए ।  सुक्खा भन्सार कार्यालयका अनुसार प्रज्ञापनपत्रमा आयातकर्ताले २६ हजार ६१० केजी मुङ दाल आयात गरेको घोषणा गरेको थिए । तर, कन्टेनरमा १४ हजार ८२५ केजी मात्र मुङ दाल बरामद भएको थियो । सुक्खा भन्सार कार्यालयका अनुसार जाँचपासका लागि प्रज्ञापनत्रको विवरण भर्ने भन्सार एजेन्टको लाइसेन्स ब्लक गरिएको छ । आयातकर्तामाथि १० करोड ७२ लाख २३ हजार रुपैयाँ जरिवाना गरिएको भन्सार कार्यालयले जनाएको छ । भन्सारले सिपिङ कम्पनीमाथि समेत जरिवाना गरेको छ । 

प्रतिक्रिया दिनुहोस्