चिनीको मूल्य बढ्यो

भारतले निर्यात रोकेपछि नेपाली बजारमा चिनीको मूल्य बढेको छ ।

सम्वादाता | २०७९ जेठ २९ गते १७: ५४ मा प्रकाशित

काठमाडौं - नेपाली बजारमा चिनीको मूल्य प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार आजदेखि चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । संघका महासचिव अमुलकाजी तुलाधरले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेको जानकारी दिए । उनले भने, ‘यसअघि खुद्रा बजारमा प्रतिकिलो ९५ रुपैयाँ थियो । अहिले बढेर १०५ रुपैयाँ पुग्यो ।’
उनले भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाल प्रभावित बनेको बताए । ‘नेपालको उत्पादनले आन्तरिक माग धान्दैन । माग धान्न भारतबाट ल्याउनुपर्छ,’ तुलाधरले भने, ‘भारतले निर्यात रोकेपछि थोक व्यापारीले चिनी लुकाएका छन् ।’

थोक व्यापारीले चिनी लुकाएपछि बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँसम्म कायम भएको छ । संघले आधिकारिक रूपमा १०५ रुपैयाँ तोके पनि व्यापारी पिच्छे फरक–फरक मूल्य कायम भएको तुलाधरको भनाइ छ ।
यसअघि, पनि चिनीको खुद्रा मूल्य प्रतिकिलो ९५ रुपैयाँ रहेपनि व्यापारीले ९८ रुपैयाँसम्म बिक्री गर्थे । यसपटक पनि यसैगरी खुद्रा व्यापारीले ११० रुपैयाँसम्म बिक्री गर्ने तुलाधरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्