परवानीपुरमा गुदरी बजारको बिटौरी कर मापदण्ड विपरित संकलन

वीरगन्ज ।  बाराको परवानीपुर गाँउपालिका कार्यालयले चालु आर्थिक बर्ष २०८३/०८४ को लागी लगाएको गुदरी बजारको बिटौरी कर मापदण्ड विपरित संकलन भईरहेको पाईएको छ । 

गत साउन २० देखि २६ गतेसम्मको लागी अस्थायी चलन पुर्जी पाएर उठाएको कर मापदण्ड विपरित रहेको पाईएको हो । 
चालु आर्थिक बर्ष २०८३/०८४ को लागी लगाएको गुदरी बजारको कर उठाउने ठेक्का प्रतिक्षा ढुवानी सेवा प्रालिले पाएको गाँउपालिका कार्यालयले जनाएको छ । 

गाँउपालिकाले जारी गरेको अस्थायी चलन पुर्जी अनुसार प्रतिदिन न्युनतम १० देखि अधिकतम ५० रुपैया सम्म कर उठाउन सकिने उल्लेख रहेको छ । तर गुदरी बजारको जिम्मेवारी पाएको ठेक्कादारले साना र ठुला गुदरी पसलबाट ७० देखि ८० रुपैया सम्म रकम संकलन गरीरहेको व्यापारीहरुले बताएका छन । 

व्यापारीहरुका अनुसार अस्थायी जिम्मेवारी पाएको ठेक्कादारले मनोमानी ढंगले गुदरी बजारमा रकम उठाएपछि करिब एक सय भन्दा बढि साना व्यापारीहरुलाई प्रत्यक्ष असर परेको अवस्था छ ।  अहिले व्यापार पनि पहिलेको जस्तो नभएको र ठेक्कादारले एनी हाउ माल उठाउ भन्ने नाराका साथ रकम उठाईरहेको अवस्था छ । 

गाँउपालिका कार्यालयका अनुसार अस्थायी चलन पुर्जी अनुसार म्याद सकिएका र पुन कार्यालयमा धरौटी रकम जम्मा गरेको खण्डमा ठेक्कादारले रकम संकलन गर्न अनुमति पाउनेछ ।  चालु आर्थिक बर्ष २०८३/०८४ को लागी गुदरी बजारको ठेक्का ३१ लाख ७० हजारमा प्रतिक्षा ढुवानी सेवा प्रालिले साकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्