करोडौंको स्वास्थ्य चौकी, तर पुग्ने बाटो छैन

लङ्गडीका स्थानीय वर्षौंदेखि सास्तीमा

पर्सा । पर्साको धोबिनी गाउँपालिका–४ लङ्गडीमा करोडौं रुपैयाँको लागतमा निर्माण गरिएको स्वास्थ्य चौकी सञ्चालनमा आए पनि त्यससम्म पुग्ने पहुँच मार्गको अभावले स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेपिरहेका छन्। वर्षायाममा सडक हिलाम्मे र जलमग्न हुने भएपछि बिरामी, गर्भवती महिला तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य चौकीसम्म पुर्‍याउनसमेत कठिन हुने गरेको स्थानीयवासीको गुनासो छ।

स्थानीय प्रदीप पटेलका अनुसार स्वास्थ्य चौकी निर्माणसँगै गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिए पनि चौकी जोड्ने मुख्य सडक वर्षा लागेसँगै हिलोले भरिने र सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था रहने भएकाले स्वास्थ्य संस्थाको प्रभावकारी उपयोग हुन सकेको छैन।

उनका अनुसार एम्बुलेन्ससमेत गाउँभित्र सहज रूपमा प्रवेश गर्न नसक्दा बिरामीलाई बोकेर मुख्य सडकसम्म ल्याउनुपर्ने र त्यसपछि पोखरिया वा वीरगञ्जका अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको छ।

स्थानीयका अनुसार प्रत्येक वर्ष वर्षायाममा सडकमा बाक्लो हिलो जम्ने, पानी निकासको उचित व्यवस्था नहुँदा सवारीसाधन फस्ने तथा आवतजावत नै अवरुद्ध हुने समस्या दोहोरिने गरेको छ। यसको प्रत्यक्ष असर स्वास्थ्य सेवा मात्र नभई विद्यालय जाने विद्यार्थी, किसान तथा दैनिक कामकाजमा निस्कने सर्वसाधारणमाथि समेत परेको उनीहरूको भनाइ छ।

स्थानीयवासीले स्वास्थ्य चौकी भवन निर्माणमा ठूलो रकम खर्च गरिए पनि त्यससम्म पुग्ने सडकको स्तरोन्नति नगरिएकाले लगानीको उद्देश्य नै ओझेलमा परेको बताएका छन्।

“स्वास्थ्य चौकी त बन्यो, तर त्यहाँ पुग्ने बाटो नै छैन,” एक स्थानीयले गुनासो गर्दै भने, “सडक राम्रो नहुँदा गाउँकै स्वास्थ्य चौकीभन्दा बाहिरको अस्पतालमा जानुपर्ने अवस्था विडम्बनापूर्ण छ।”

स्थानीयहरूले धोबिनी गाउँपालिका, मधेश प्रदेश सरकार तथा सम्बन्धित निकायसँग स्वास्थ्य चौकीसम्म पुग्ने सडकको तत्काल निर्माण तथा स्तरोन्नति गर्न माग गरेका छन्। कम्तीमा ग्राभेल वा कालोपत्रे सडक निर्माण गरी वर्षैभरि सहज आवतजावत सुनिश्चित गर्नुपर्ने उनीहरूको जोड छ।

स्थानीयको भनाइमा करोडौं रुपैयाँ खर्च गरेर आधुनिक स्वास्थ्य चौकी निर्माण गर्नु मात्र पर्याप्त नहुने, त्यससम्म सहज पहुँच सुनिश्चित गरिएपछि मात्र नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाको वास्तविक लाभ लिन सक्नेछन्। त्यसैले लङ्गडी स्वास्थ्य चौकीलाई प्रभावकारी र नमूना स्वास्थ्य संस्था बनाउन पहुँच मार्गको तत्काल निर्माण अपरिहार्य रहेको स्थानीयहरूको माग छ।

प्रतिक्रिया दिनुहोस्