गहवामाई मन्दिरको चौथो रथयात्रा हजारौं श्रद्धालुको सहभागितामा सम्पन्न

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीवार हजारौं श्रद्धालुको उत्साहजनक सहभागितामा भव्य, श्रद्धापूर्ण र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्राले यस वर्ष पनि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका भक्तजनलाई एकै स्थानमा धार्मिक आस्थाको सूत्रमा बाँधेको देखिएको छ।

विशेष पूजा–आराधनापछि गहवामाई मन्दिरबाट प्रारम्भ भएको रथयात्रा घण्टाघर, रेलवे सडकको इनर बाइपास, छपकैया, मुख्य सडक, अस्पताल मार्ग, मकालु चोक, आदर्शनगर हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन भएको थियो। यात्रा अवधिभर भक्तजनले जयकारा, भजन–कीर्तन तथा धार्मिक नारासहित भक्तिभावपूर्वक सहभागिता जनाएका थिए।

रथयात्रामा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रदेशसभा सदस्य सुशील साह कानु, युवा नेता सुधीर पटेललगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा हजारौं श्रद्धालुको उपस्थिति रहेको थियो।

रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए। मार्गभर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै सादा पोशाकका प्रहरीसमेत खटाइएको थियो। ट्राफिक व्यवस्थापन सहज बनाउन विभिन्न स्थानमा वैकल्पिक मार्ग सञ्चालन गरिएको थियो।

रथयात्रा प्रारम्भ हुनुअघि वर्षा भए पनि त्यसले भक्तजनको उत्साहमा कुनै कमी ल्याउन सकेन। मुख्य सडक विस्तारका कारण केही स्थानमा सामान्य असहजता देखिए पनि श्रद्धालुहरू अनुशासित रूपमा रथसँगै यात्रा गर्दै धार्मिक कार्यक्रममा सहभागी बनेका थिए।

रथयात्रापछि आयोजक समितिका सचिव लक्ष्मीनारायण (पप्पु) गुप्ताले साँझ ६ बजेदेखि भव्य भजन सन्ध्याको आयोजना गरिएको जानकारी दिए।

यसैबीच, विश्व ज्योतिष महासङ्घका एशिया उपसभापति पुरुषोत्तम दुबेले साउन १ गते बिहान ६ बजेदेखि आयोजना हुने ५६ भोग महापूजा तथा दिउँसो ४ बजेदेखि सञ्चालन हुने विशाल महाप्रसाद भण्डाराको विशेष धार्मिक महत्व रहेको बताए। उनले कार्यक्रममा हजारौं श्रद्धालुको सहभागिता अपेक्षित रहेकाले सभ्य, शान्तिपूर्ण र सुव्यवस्थित रूपमा सम्पन्न गराउन नगरवासी, भक्तजन तथा स्वयंसेवकहरूलाई सक्रिय सहयोग गर्न आग्रह गरे।

आयोजक समितिका अनुसार यस वर्षको गहवामाई रथयात्रा धार्मिक आस्था, सामाजिक सद्भाव, अनुशासन तथा उत्कृष्ट सुरक्षा व्यवस्थाको उदाहरणका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। रथयात्राले वीरगञ्जको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउनुका साथै विभिन्न समुदायबीच सद्भाव र एकताको सन्देश प्रवाह गरेको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्