गृहमन्त्रीको अनुगमनपछि पर्साका सुरक्षा निकाय प्रतिरक्षात्मक

तस्करी नियन्त्रण सुस्ताएको स्थानीयको गुनासो

अनुगमनका क्रममा पर्सा पुगेका गृहमन्त्री प्रदुषित श्रीसियां खोलाको रिरिक्षण गर्दै । तस्वीरः सामाजिक सञ्जाल

वीरगञ्ज । गृहमन्त्री सुदन गुरुङको हालैको सीमा क्षेत्र अनुगमनपछि पर्साका सुरक्षा निकायहरू प्रतिरक्षात्मक बनेको चर्चा स्थानीयस्तरमा सुरु भएको छ। सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा लागूऔषध ओसारपसार रोकथाममा सक्रिय देखिने सुरक्षा संयन्त्र पछिल्ला दिनमा अपेक्षाकृत निष्क्रिय देखिएको भन्दै स्थानीय, व्यवसायी तथा सुरक्षा वृत्तमै चिन्ता व्यक्त हुन थालेको छ।

स्थानीय स्रोतका अनुसार केही समयअघिसम्म पर्सा प्रहरीले विभिन्न स्थानमा नियमित छापा मारेर अवैध सामान बरामद गर्ने, तस्करीमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने तथा सार्वजनिक रूपमा कारबाहीको विवरण सार्वजनिक गर्ने गरेको थियो। तर पछिल्ला दिनमा यस्ता गतिविधि उल्लेखनीय रूपमा घटेको देखिएको दाबी गरिएको छ। सीमा क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रणमा निगरानी कमजोर भएको आरोपसमेत स्थानीयको छ।

सुरक्षा स्रोतका अनुसार पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तले संसद्मा पर्सा प्रहरीको लागूऔषध नियन्त्रणसम्बन्धी भूमिकामाथि प्रश्न उठाएपछि जिल्लाका सुरक्षा नेतृत्व थप दबाबमा परेको चर्चा छ। माथिल्लो निकायबाट जुनसुकै बेला जिम्मेवारी परिवर्तन हुन सक्ने आशंकाका कारण केही अधिकारीहरू आक्रामक रूपमा कारबाही गर्नुभन्दा सावधानी अपनाउने अवस्थामा पुगेको स्रोतको दाबी छ।

यता स्थानीय व्यवसायीहरू भने बजार, गोदाम तथा अन्य स्थानमा अवैध सामान पुग्ने क्रम रोकिएको नदेखिएको बताउँछन्। उनीहरूको प्रश्न छ, “यदि अवैध सामान बजारसम्म आइरहेको छ भने ती सामग्री सीमाबाट कसरी प्रवेश गरिरहेका छन्?” उनीहरूका अनुसार यसले सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायको निगरानी तथा समन्वय प्रभावकारी हुन नसकेको संकेत गर्छ।

सरोकारवालाहरूले सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायबीचको समन्वय, संयुक्त गस्ती तथा सूचना आदान–प्रदान प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। खुला सीमाको फाइदा उठाउँदै हुने चोरी–तस्करी, लागूऔषध कारोबार तथा अन्य संगठित अपराध नियन्त्रणका लागि सुरक्षा संयन्त्र अझ सक्रिय हुनुपर्ने उनीहरूको भनाइ छ।

यद्यपि यस विषयमा पर्सा प्रहरी, सशस्त्र प्रहरी बल तथा जिल्ला प्रशासन कार्यालयले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। सुरक्षा निकायका अधिकारीहरूले भने सीमा सुरक्षा तथा अपराध नियन्त्रणका नियमित गतिविधि निरन्तर सञ्चालन भइरहेको दाबी गर्दै आएका छन्।

मुलुककै प्रमुख व्यापारिक प्रवेशद्वारका रूपमा रहेको पर्सामा हुने सुरक्षा गतिविधिले राष्ट्रिय राजस्व, सीमा सुरक्षा तथा आन्तरिक शान्ति–सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सम्बन्धित निकायले प्रभावकारी निगरानी, पारदर्शी कार्यसम्पादन र तस्करी नियन्त्रणमा थप सक्रियता देखाउनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्