पर्सा प्रहरीद्वारा आयोजित नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुरक्षा सुधारमा सहकार्यको प्रतिबद्धता

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रभावकारी, पारदर्शी र विश्वासिलो बनाउने उद्देश्यले वीरगञ्ज बसपार्कस्थित हर्ष पार्टी प्यालेसमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले नागरिकको सहयोगबिनाको प्रभावकारी सुरक्षा व्यवस्था सम्भव नभएको उल्लेख गर्दै लागूऔषध नियन्त्रण, चोरी–डकैती न्यूनीकरण, ट्राफिक व्यवस्थापन र सार्वजनिक सुरक्षामा प्रहरीले विशेष रणनीतिसहित काम गरिरहेको बताए।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले सुरक्षित वातावरण आर्थिक गतिविधिको आधार भएको उल्लेख गर्दै प्रहरी–निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा सहभागीहरूले शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी–डकैती न्यूनीकरण तथा प्रहरी सेवासम्बन्धी गुनासा र सुझाव राखेका थिए। स्थानीय जनप्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधि तथा प्रहरी अधिकृतहरूले समुदायसँगको समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सहभागीहरूले प्रहरी र नागरिकबीच प्रत्यक्ष संवादले आपसी विश्वास बढाउने भन्दै यस्ता नागरिक सुनुवाइ कार्यक्रम नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्