अपौनी र हरपतगन्जमा रामकिशोर सिंह (पराग)को घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न

पर्सा । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज आफ्नै गाउँ वीरगञ्ज महानगरपालिका वडा नम्बर २० को अपौनी र हरपतगन्जमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उत्साहपूर्वक फूलमाला तथा गम्छा लगाई उम्मेदवार सिंहलाई भव्य स्वागत तथा समर्थन व्यक्त गरेका थिए। गाउँभरि उत्साहजनक सहभागिता देखिएको थियो।

भेटघाटका क्रममा स्थानीय तथा युवाहरूले देशलाई शिक्षित, सक्षम र इमान्दार युवा नेतृत्व आवश्यक रहेको बताउँदै “हामीलाई गाउँ मात्र होइन, समग्र नेपालका लागि सोच्ने र काम गर्ने युवा सांसद चाहिएको छ” भन्ने धारणा व्यक्त गरेका थिए।स्थानीयवासीहरूले वडा अध्यक्षका रूपमा निर्वाचित भई विकासका कामसँगै महानगरभित्र देखिएका विकृति र भ्रष्टाचारका विषयमा आवाज उठाउने साहस देखाएको भन्दै सिंहको प्रशंसा गरेका थिए। “हामी सम्पूर्ण गाउँवासी तपाईंको समर्थनमा छौं र सकेसम्म पूर्ण सहयोग गर्नेछौं” भन्दै एकजुट समर्थन जनाइएको थियो।

सम्पूर्ण गाउँ एकजुट भई घरदैलो कार्यक्रममा सहभागी भएको थियो र आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना समेत व्यक्त गरिएको थियो।

उम्मेदवार सिंहले गाउँवासीहरूको माया, स्नेह र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि जनताकै बीचमा रहेर गुनासा सुन्ने र समग्र विकासका कार्यमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे।
“म पुराना पार्टी र उम्मेदवार जस्तो हुने छैन। जित–हार आफ्नो ठाउँमा हुन्छ, तर म नेता भएर होइन, सम्पूर्ण जनताको सेवक बनेर काम गर्नेछु,” सिंहले बताए।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्