पर्सा–३ मा राजनीतिक भूकम्पको संकेत : युवा लहरले पुरानो गढ हल्लाउँदै

परम्परागत शक्ति संकटमा, युवानेतृत्व आक्रामक उभारमा

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ यतिबेला राजनीतिक रूपमा अत्यन्तै चासोको केन्द्र बनेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट युवा उम्मेदवार रूपेश कुमार पाण्डे, नेपाली कांग्रेसबाट सुरेन्द्र चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट छोटेलाल यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमाकान्त चौरसिया जनमतकी मालती कुशवाहा चुनावी मैदानमा उत्रिएका छन । यद्यपि मैदानमा बहुपक्षीय प्रतिस्पर्धा देखिए पनि मुख्य भिडन्त भने एमालेका रूपेश पाण्डे र कांग्रेसका सुरेन्द्र चौधरीबीच केन्द्रित भएको स्पष्ट देखिन्छ ।
युवाशक्ति बनाम पुरानो संरचना
पर्सा–३ को राजनीतिक धरातल विगतमा परम्परागत दलहरूको प्रभावमा रहंदै आएको थियो । तर पछिल्ला तीन वर्ष आठ महिनादेखि निरन्तर रूपमा क्षेत्रका गाउं–बस्ती, टोल–टोल पुगेर जनताको समस्या प्रत्यक्ष बुझ्दै आएका रूपेश पाण्डेले यो समीकरणमा उल्लेखनीय परिवर्तन ल्याएका छन ।
 
स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, सिंचाइ, सडक, रोजगारी र सीमावर्ती व्यापार व्यवस्थापनजस्ता मुद्दा उठाउंदै आएका पाण्डेले आफूलाई केवल चुनावी उम्मेदवार नभई ‘मैदानमै काम गर्ने नेतृत्व’का रूपमा स्थापित गर्न सफल भएकाछन ।
उनको अभियानले युवा मतदाता, पहिलोपटक मतदान गर्ने समूह तथा वैकल्पिक सोच खोजिरहेका मतदातामा उत्साह थपेको देखिन्छ ।
कांग्रेसको परम्परागत आधारमा चुनौती
नेपाली कांग्रेसका सुरेन्द्र चौधरी क्षेत्रीय रूपमा परिचित अनुहार भए पनि विकासको ठोस खाका र निरन्तर जनसम्पर्कको अभावमा उनीमाथि प्रश्न उठ्न थालेका छन । मतदाताबीच “पुरानै शैलीको राजनीति” प्रति बढ्दो असन्तुष्टि देखिंदा यसको सीधा फाइदा एमाले उम्मेदवार पाण्डेलाई पुगिरहेको बुझिएको छ ।
 
पछिल्ला वर्षहरूमा संघीय संरचना कार्यान्वयन, सीमावर्ती सुरक्षाको सवाल, उद्योग–व्यवसायको संरक्षण र युवा पलायन रोक्ने नीति जस्ता विषयमा प्रभावकारी आवाज नउठेको गुनासो क्षेत्रमै सुनिन्छ । पाण्डेले भने यी विषयलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राखेका छन ।
 
२०४८ साल देखि सक्रिय राजनीतिमा रहंदै आएका नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी विरूद्ध जनअसन्तुष्टि अहिले क्षेत्रमा बढ्दै गएको छ, भने उनको भिजन भाषणबाजीमा मात्र सिमित रहेको स्थानीय जनताले बताउंछन । पटक पटक सांसद देखि मन्त्री सम्मको जिम्मेवारी निर्वाह गरेपनि नेता चौधरीले क्षेत्रको बिकासको लागि कुनै ठोस काम गर्न नसकेको र निर्वाचनको बेला म्यादी प्रहरी जस्तै जनतालाई गुमराह गरेर ठगिनेकाम मात्र गरिरहेको आरोप समेत स्थानीय मतदाताले लगाउछन । 
बहुकोणीय प्रतिस्पर्धा, तर ध्रुवीकरण स्पष्ट
माओवादी केन्द्रका छोटेलाल यादव र रास्वपाका रमाकान्त चौरसियाको उम्मेदवारीले केही मत विभाजन गर्ने आकलन गरिए पनि निर्णायक प्रभाव भने एमाले–कांग्रेसबीचको सीधा प्रतिस्पर्धामै देखिन्छ ।
 
विशेषगरी वडास्तरमा एमालेको संगठन मजबुत हुनु, युवाहरूको सक्रिय परिचालन, घरदैलो अभियानको तीव्रता र टोलसभामा उच्च सहभागिताले रूपेश पाण्डेको पक्षमा माहोल निर्माण भइरहेको देखिन्छ ।
 
विकास र सुशासनको आक्रामक एजेन्डाको रुपमा पर्सा निर्वाचन क्ष्ँत्र नं ३ लाई “उद्योग, कृषि र व्यापारको नमुना क्षेत्र” बनाउने स्पष्ट योजना अघि सारेका छन् । उनका मुख्य प्रतिबद्धताहरु सीमावर्ती व्यापार सहज बनाउन नीति समन्वय, सिंचाइ र कृषि आधुनिकीकरण, युवालाई स्वरोजगार तथा सीपमूलक तालिम, सडक तथा पूर्वाधार विस्तार तथा पारदर्शी र उत्तरदायी शासन प्रणाली लगायत समेटिएका छन् ।
 
उनको भनाई छ, “पर्सा–३ को माटोमा सम्भावना प्रशस्त छ, अब चाहिएको प्रतिबद्ध र सक्रिय नेतृत्व हो ।” यही सन्देशलाई लिएर उनी घरदैलोदेखि सामाजिक सञ्जालसम्म आक्रामक रूपमा प्रस्तुत भइरहेका छन ।
जनमतको लहर कता ?
स्थानीय राजनीतिक वृत्तमा अहिलेको चर्चा एउटै छ— “यसपटक पर्सा–३ मा पुस्तान्तरणको संकेत देखिंदैछ ।” युवा नेतृत्वको उदय, संगठनको सक्रियता र विकासको स्पष्ट एजेन्डाले रूपेश पाण्डे बलियो प्रतिस्पर्धी मात्र नभई सम्भावित विजेताका रूपमा उभिएको विश्लेषण हुन थालेको छ ।
 
अन्ततः पर्सा–३ का मतदाताले परम्परागत राजनीतिक संरचनालाई निरन्तरता दिने कि नयां ऊर्जा र दृष्टिकोणलाई अवसर दिने भन्ने निर्णय केही समयमै गर्नेछन् । तर वर्तमान चुनावी तापक्रम हेर्दा रूपेश कुमार पाण्डेको पक्षमा माहोल क्रमशः सुदृढ बन्दै गएको संकेतहरू स्पष्ट देखिन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्