प्रसौनीमा एमालेको शक्ति प्रदर्शन – प्रदीप यादवको पक्षमा माहोल तात्यो

वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ प्रसौनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आयोजित घरदैलो, जनता दर्शन तथा पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रमले क्षेत्र नम्बर–१ मा चुनावी माहोललाई थप तातेको संकेत दिएको छ।

कार्यक्रम वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा तथा एमाले केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमका वक्ताहरूले देशको विगत र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै अस्थिरताको अन्त्य र राष्ट्रको स्थायित्वका लागि एमाले नेतृत्वको आवश्यकता औंल्याए। उनीहरूले राष्ट्रियताको रक्षा र संविधानको संरक्षणका लागि एकताबद्ध भएर प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई भारी मतले विजयी गराउन आह्वान गरे।

उम्मेदवार प्रदीप यादवले संविधानको रक्षा र राष्ट्रिय स्वाभिमान सुदृढीकरणका लागि आफूले एमाले रोजेको स्पष्ट पार्दै मधेश आन्दोलनदेखि हालसम्मको आफ्नो राजनीतिक यात्रालाई स्मरण गरे। उनले जनताको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गर्दै “काम गर्ने, जनताको सेवामा समर्पित र सक्षम उम्मेदवारलाई मत दिनुहोस्,” भन्ने आग्रह गरे।

नवप्रवेशीहरूलाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गर्दै यादवले पर्सा जिल्ला र क्षेत्र नम्बर–१ मा केही ‘बहुरूपिया’ तत्वहरूले बिचौलियामार्फत जनतालाई गुमराह पार्ने प्रयास गरिरहेको आरोप लगाए। उनले फागुन २१ गतेको निर्वाचनमार्फत यस्ता प्रवृत्तिलाई परास्त गर्नुपर्ने धारणा व्यक्त गरे। “यो निर्वाचन देश बनाउने र देशलाई ध्वस्त पार्ने शक्तिबीचको प्रतिस्पर्धा हो। देश निर्माणका लागि एमालेको नेतृत्व आवश्यक छ,” उनले जोड दिए।

कार्यक्रममा विभिन्न दल परित्याग गरी जमुना यादवको नेतृत्वमा दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका जनाइएको छ।

वडा कमिटी सचिव राकेश साहले सहजीकरण गरेको कार्यक्रममा केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, क्षेत्रीय समन्वय कमिटी अध्यक्ष मानदेव हजरा, एमाले नेता जलन्धर पटेललगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्