जनताको भरोसामा राष्ट्रिय स्वतन्त्र पार्टी, अठराहां सुगौलीमा कानुको घरदैलोले देखायो परिवर्तनको संकेत

रोजगारी, शिक्षा र स्वास्थ्यको एजेन्डासहित अठराहां सुगौली पुगे कानु, घण्टीमा मत हाल्ने प्रतिबद्धता

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२६ को अठराहां सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा स्थानीय युवा, ज्येष्ठ नागरिक, महिला तथा सर्वसाधारणले उम्मेदवार कानुलाई अबिर र गम्छा लगाएर स्वागत गरेका थिए। कार्यक्रममा उनले स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै आफ्नो विकास योजना र राजनीतिक प्रतिबद्धता प्रस्तुत गरे।

कानुले रास्वपाको करारपत्रअनुसार पाँच वर्षसम्म जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको जीवनस्तर सुधार र भुइँतहका नागरिकको आवाज संसद्मा प्रभावकारी रूपमा उठाउने लक्ष्य रहेको बताए।

विगतका निर्वाचित प्रतिनिधिहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै कानुले यस क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति नभएको टिप्पणी गरे। “यो क्षेत्र आज पनि दुई दशकअघिकै अवस्थामा छ,” उनले भने, “निर्वाचित भएपछी यो अवस्थालाई परिवर्तन गर्नेछु।”

उनले आफूलाई जनतासँग काम गर्ने अनुभव भएको व्यक्ति भएको दाबी गर्दै मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै मुस्लिम महिला तथा युवाहरूका लागि रोजगारीमुखी र सीपमूलक तालिम कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

घरदैलो कार्यक्रममा स्थानीय युवाहरू र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता देखिएको थियो। सहभागीहरूले ‘परिवर्तनका लागि घण्टीमा मत हालौँ’ भन्ने नारा समेत लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्