मौसमी नेताबाट सजग रहन आग्रह गर्दै प्रदीप यादव घरदैलो अभियानमा

विकास र समृद्धिको एजेण्डासहित यादव घर–घरमा

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विगतको योगदानको मूल्याङ्कन गर्न र सही नेतृत्वलाई मत दिन आग्रह गरे। उनले निर्वाचनले क्षेत्र मात्र होइन, सिङ्गो देशको भविष्य निर्धारण गर्ने भएकाले मतदाताले विवेकपूर्ण निर्णय गर्नुपर्ने बताए।

घरदैलोका क्रममा यादवले दुवै वडाका घर–घरमा पुगेर स्थानीयसँग भेटघाट गरेका थिए। पूर्वमन्त्रीसमेत रहेका उनले जनताको सुख–दुःखमा निरन्तर साथ दिने नेतालाई रोज्नुपर्नेमा जोड दिए। “यो निर्वाचनले हाम्रो क्षेत्र मात्र होइन, देशको दिशा तय गर्नेछ। त्यसैले सही व्यक्ति र दल छान्नुहोस्,” उनले मतदातासँगको संवादमा भने।

आफ्ना दुई कार्यकालको अनुभव स्मरण गर्दै यादवले क्षेत्रको विकास, पूर्वाधार विस्तार, स्वास्थ्य, शिक्षा तथा रोजगारी सिर्जनामा गरेको योगदानको मूल्याङ्कन गर्न अपिल गरे। उनले चुनावका बेला मात्र सक्रिय हुने ‘मौसमी नेता’ हरूप्रति सजग रहन आग्रह गर्दै मुलुकको वर्तमान सङ्कटबाट निकास दिन सक्ने शक्ति एमाले नै भएको दाबी गरे।

कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता शम्भु गुप्ता, सुन्दर कुर्मी तथा वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियालगायतको उपस्थिति रहेको थियो। सहभागी नेताहरूले पनि मतदातासँग संवाद गर्दै एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

स्थानीयवासीहरूले यादवका विगतका कार्यहरूको प्रशंसा गर्दै आगामी निर्वाचनमा समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्