चुनावपछि दल परिवर्तन गर्दै कांग्रेस प्रवेश, वीरगन्जमा बिद्रोहको संकेत

वीरगंज । चुनावपछि दल परिवर्तन गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका मेडिकल व्यवसायी तथा पूर्व एमाले केन्द्रीय सदस्य बसरुद्दिन अन्सारी को कदमले वीरगन्ज महानगरमा कांग्रेसभित्रै बिद्रोह हुने सम्भावना प्रबल भएको छ।

पर्सा–१ का कांग्रेस उम्मेदवार अनिल रुंगटा ले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट महानगरको मेयरमा टिकट दिने वाचा गरेपछि मात्र अन्सारीले कांग्रेस प्रवेश गरेको पार्टी स्रोतहरूले बताएका छन्।

अन्सारीले माघ ६ गते, मनोनयन अघि, एमालेले पर्सा–१ बाट टिकट नदिएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा भनेका थिए, “जस्ले मेयरको टिकट दिन्छ, त्यही पार्टीमा प्रवेश गर्छु।” उनले त्यतिबेला पनि स्पष्ट गरेका थिए कि आगामी स्थानीय तहको निर्वाचनमा जुनसुकै पार्टीबाट भए पनि वीरगन्जको मेयरमा चुनाव लड्ने योजना छ। त्यसबेला अन्सारी राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) प्रवेश गर्ने तयारीमा थिए र त्यही पार्टीबाट मेयरमा चुनाव लड्ने चर्चा पनि चलेको थियो।

अन्सारीको पछिल्लो कदमले कांग्रेसबाट मेयर पदमा चुनाव लड्ने निश्चितता भएको आकलन बलियो बनाएको छ। यसले वीरगन्ज महानगरमा कांग्रेसभित्रै मतभेद र असन्तोष निम्त्याउने सम्भावना बढाएको पार्टीभित्रका नेताहरू बताउँछन्। कांग्रेसबाट मेयर पदका आकांक्षी अन्य नेताहरूलाई पाखा लगाएर अन्सारीले टिकट पाउने चर्चा चलेको हुँदा, असन्तोष फैलिन सक्ने देखिन्छ।

पर्सा–१ का एक वरिष्ठ कांग्रेस नेताले भने, “अन्सारी पदका लागि जे पनि गर्न तयार हुने व्यक्ति हुन्। मेडिकल कलेजको लाइसेन्स लिँदा उनको परिवार कांग्रेससँग जोडिएको थियो। उद्घाटनमा तत्कालीन एमाले नेता माधव नेपाललाई बोलाएर कार्यक्रम सम्पन्न गरे। त्यसपछि माओवादीमा प्रवेश गरेर सांसद बने। अर्को चुनावमा एमालेबाट मेयरमा लडे। अहिले एमालेले टिकट नदिएपछि रास्वपामा जाने हल्ला उनले आफैं चलाए। आज कांग्रेसमा प्रवेश गरेर मेयरमा लड्छु भन्छन्। यस्ता अवसरवादीलाई यदि कांग्रेसले मेयर पदको आश्वासन दिई प्रवेश गराएको खण्डमा, पार्टीमा ठूलो असन्तोष पैदा हुनेछ।”

विश्लेषकहरूले बसरुद्दिन अन्सारीको कांग्रेस प्रवेशले पार्टीभित्रको आन्तरिक सन्तुलनमा चुनौती सिर्जना गर्ने सम्भावना रहेको मूल्याङ्कन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्