जनताको घरदैलोमा प्रदीप यादव: विकास र सुशासनको प्रतिबद्धता दोहोर्‍याउँदै

वीरगञ्ज । “जनताको विश्वास, सुझाव र समर्थन नै हाम्रो अभियानको मुख्य आधार” भन्ने मूल नारासहित नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादव ले आइतबार पनि घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन्।

पूर्वमन्त्रीसमेत रहेका यादवले आइतबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं. २० हरपतगंज क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्। चुनाव नजिकिँदै जाँदा उम्मेदवार यादवको घरदैलो अभियानले थप गति लिएको देखिएको छ। स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनले नागरिकका समस्या, सुझाव तथा गुनासो ध्यानपूर्वक सुनेका थिए।

घरदैलोका क्रममा स्थानीयले सडक स्तरोन्नति, ढल निकास व्यवस्थापन, खानेपानी आपूर्ति, बेरोजगारी तथा स्वास्थ्य सेवाको पहुँचजस्ता विषयमा गुनासा राखेका थिए। कतिपय युवाहरूले रोजगारी र सीपमूलक तालिमको आवश्यकता औंल्याएका थिए भने महिलाहरूले सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवामा सुधारको माग गरेका थिए।

उम्मेदवार यादवले जनताका यी मुद्दाहरूलाई आफ्नो प्राथमिक कार्यसूचीमा राख्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने बताए। उनले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र जनउत्तरदायी शासन प्रणालीलाई मजबुत बनाउने अठोट दोहोर्‍याए।

कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, “राजनीति केवल पदका लागि होइन, जनताको जीवनस्तर उकास्नका लागि हो। समावेशी विकास, पारदर्शिता र उत्तरदायित्व हाम्रो अभियानको मूल मर्म हो।”

उनले आफ्नो अघिल्लो कार्यकालमा सुरु भएका विकास योजनालाई पूर्णता दिने र नयाँ पूर्वाधार योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाए। साथै, युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने योजना प्रस्तुत गरे।

घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय नेताहरू, स्थानीय अगुवा नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। वडा नं. २० का मतदाता तथा सर्वसाधारणबाट आफूले अपार माया र समर्थन प्राप्त गरेको दाबी गर्दै यादवले चुनावमा विजय हासिल गर्नेमा आफू विश्वस्त रहेको बताए।

चुनावी माहोल क्रमशः तातिँदै जाँदा पर्सा–१ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा चर्किँदै गएको छ। यसैबीच, यादवको निरन्तर घरदैलो अभियानले स्थानीय राजनीतिक सरगर्मीलाई थप उचाइमा पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्