रामबन र तेढामा रामकिशोर सिंह (पराग)को घरदैलो, रोजगारी र पूर्वाधार विकासमा जोड

वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले सोमबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत पर्ने रामबन र तेढा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवार सिंहले स्थानीयवासी तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा, सुझाव तथा समस्या सुनेका थिए। स्थानीयहरूले बस्ती व्यवस्थापन, नाला तथा सडक निर्माण, शिक्षा र स्वास्थ्य सेवामा देखिएका चुनौतीबारे आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा सहभागी युवाहरूले रोजगारीको अभावका कारण केही युवाहरू लागुऔषधको चपेटामा परेको विषय उठाएका थिए। उक्त विषयलाई गम्भीर रूपमा लिँदै उम्मेदवार सिंहले आफू निर्वाचित भएलगत्तै युवाहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने, सीपमूलक तालिम सञ्चालन गर्ने तथा आत्मनिर्भर कार्यक्रममार्फत रोजगारीको बाटो खोल्ने प्रतिबद्धता व्यक्त गरे।

यस अवसरमा स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई काम गर्ने व्यक्तित्वका रूपमा स्मरण गर्दै “जनताको हितमा काम गर्ने नेता बन्नुहोस्, हामी तपाईंको साथमा छौं” भन्ने विश्वास व्यक्त गरेका थिए।

घरदैलो कार्यक्रममा स्थानीय युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो भने उज्यालो नेपाल पार्टीप्रति जनसमर्थन क्रमशः बढ्दै गएको अनुभूति गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्