एमाले पर्सा–३ मा चुनावी तयारी तीव्र, सखुवा प्रसौनीमा कार्यकर्ता भेला सम्पन्न

वीरगंज । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा भेला कार्यक्रम सम्पन्न गरेको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा पार्टी संगठन सुदृढीकरण र चुनावी तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त भेलाले नयाँ उत्साह थपेको एमाले नेताहरूले बताएका छन्।

सखुवा प्रसौनी गाउँपालिका कमिटी अध्यक्ष शिवनरायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, नेतृ फुलमती चौधरी, बासुदेव थारू लगायत स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रभु हजराले मुलुकमा स्थायित्व, विकास र सुशासनका लागि नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको बताए। उनले पर्सा–३ बाट उम्मेदवार बनेका युवा नेता रूपेश कुमार पाण्डे परिवर्तनको चाहना बोकेका मतदाताहरूको विश्वासको केन्द्र बन्दै गएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै पर्सा–३ का उम्मेदवार रूपेश कुमार पाण्डेले क्षेत्रका मुख्य समस्या र जनताले भोग्दै आएका कठिनाइहरूमाथि प्रकाश पार्दै समाधानमुखी योजना सार्वजनिक गरे। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उनले विकास अब नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने आवश्यकता औंल्याए।

भेलामा सहभागी स्थानीय नेता–कार्यकर्ता तथा नागरिकहरूले युवा उम्मेदवार पाण्डेप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्