पर्सा ट्राफिकमा आर्थिक चलखेलको आरोप, निष्पक्ष छानबिनको माग

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत ट्राफिक प्रहरी हवल्दार राजकुमार गोलेमाथि आर्थिक अनियमितता तथा कार्यालयभित्र एकल प्रभाव जमाएको आरोप सार्वजनिक भएको छ। कार्यालयभित्रका केही स्रोतहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार तथा स्थानीय वृत्तमा यस्तो गुनासो उठ्न थालेको बताइएको छ।

स्रोतका अनुसार हवल्दार गोलेले कार्यालयभित्र हवल्दार मेजरको भूमिका, क्लर्कसम्बन्धी कामकाज तथा यातायात व्यवस्था कार्यालय बिरगंज अन्तर्गतको ट्रायल सेन्टरसम्म प्रभाव राख्ने गरेको आरोप लगाइएको छ। एउटै व्यक्तिले विभिन्न स्थानमा प्रभाव जमाएको भनाइ सार्वजनिक भएसँगै कार्यालयको पारदर्शिता र कार्यसम्पादनबारे प्रश्न उठेको दाबी गरिएको छ।

त्यस्तै, ट्राफिक सिफारिसका नाममा दुई सयदेखि पाँच सय रुपैयाँसम्म असुल्ने, ई–रिक्सा संघका केही पदाधिकारीसँग महिनावारी रकम लिने तथा ट्रायल सेन्टरबाट समेत आर्थिक लाभ लिने गरेको आरोप स्रोतहरूले लगाएका छन्। यद्यपि यी आरोपहरू आधिकारिक रूपमा पुष्टि भइसकेका छैनन्।

केही ट्राफिक प्रहरी कर्मचारीहरूबाट समेत कार्यालयभित्र दबाबको वातावरण बनेको र इमान्दार कर्मचारीहरूलाई काम गर्न कठिन भएको गुनासो उठेको दाबी गरिएको छ। यस विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन्।

आरोपबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। यदि आरोप सत्य प्रमाणित भएमा नेपाल प्रहरीको संस्थागत छविमा गम्भीर असर पर्न सक्ने भन्दै उच्च तहबाट पारदर्शी अनुसन्धान आवश्यक रहेको स्थानीय सरोकारवालाहरूको भनाइ छ।

यस घटनाबारे आधिकारिक अनुसन्धान र सम्बन्धित निकायको धारणा सार्वजनिक भएपछि मात्र वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस्