पर्सा–४ मा एमालेको बढ्दो सक्रियता, चुनावी माहोल तातेको दाबी

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेको पक्षमा जनसमर्थन बढ्दै गएको दाबी गरिएको छ। गाउँ–गाउँ र टोल–टोलमा एमालेका उम्मेदवार जालिम मियाको पक्षमा देखिएको सक्रियताले चुनावी माहोल थप तातेको स्थानीय कार्यकर्ता तथा समर्थकहरूले बताएका छन्।

चुनावी सभाहरू, घरदैलो अभियान र जनसंवाद कार्यक्रमहरूमा स्थानीयहरूको उल्लेख्य सहभागिता देखिएको एमाले पक्षको भनाइ छ। विशेषगरी युवाहरू, किसान, मजदुर र व्यवसायी वर्ग विकास, स्थायित्व र स्पष्ट नेतृत्वको अपेक्षासहित एमालेतर्फ आकर्षित भइरहेको दाबी गरिएको छ।

स्थानीय मतदाताहरूले विगतका अधुरा विकास योजनाहरू पूरा गर्ने दलको रूपमा एमालेलाई हेर्न थालेको प्रतिक्रिया केही स्थानमा सुनिएको एमाले नेताहरूले बताएका छन्। उम्मेदवार जालिम मियाले शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र सुरक्षालाई प्राथमिक एजेन्डा बनाएर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

“काम गरेर देखाउने नेतृत्व चाहियो” भन्ने जनभावनाले एमालेको चुनावी अभियानलाई थप ऊर्जा दिएको एमाले पक्षको दाबी छ। यसैबीच, प्रतिष्पर्धी दलहरू भने आरोप–प्रत्यारोपमा केन्द्रित हुन थालेको एमाले कार्यकर्ताहरूको आरोप छ। यद्यपि अन्य दलहरूले भने आफ्नो पक्षमा पनि जनसमर्थन बलियो रहेको दाबी गर्दै आएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार पर्सा–४ मा बढ्दो चुनावी गतिविधि र प्रतिस्पर्धाले यस क्षेत्रको निर्वाचनलाई थप रोचक बनाएको छ। अन्तिम मतपरिणाममा मतदाताको सक्रियता र चुनावी रणनीति निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।

हालको माहोलले पर्सा–४ मा चुनावी प्रतिस्पर्धा कडा हुने संकेत देखाएको छ भने सबै दलहरू आफ्नो अभियानलाई तीव्र बनाउँदै अघि बढिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्