पर्सा–१ का उम्मेदवार रामकिशोर सिंह (पराग)लाई वीरगञ्ज–श्रीपुर ११ मा भव्य स्वागत

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) लाई आज वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीपुर, वडा नम्बर ११ मा Gen Z युवाहरू तथा स्थानीयवासीहरूले खादा–माला लगाई भव्य स्वागत तथा सम्मान गरेका छन्।
स्वागतपछि भएको भेटघाट तथा संवाद कार्यक्रममा उम्मेदवार सिंहले टोलवासीसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै युवाका लागि रोजगारी र शिक्षा, गाउँ–टोल समाजको समग्र विकास, तथा क्षेत्रका प्राथमिक आवश्यकताबारे आफ्ना धारणा राखे। उनले निर्वाचन क्षेत्रभित्रका हरेक वडामा जनगुनासो सुन्ने सचिवालय स्थापना गर्ने योजना रहेको जानकारी गराउँदै, जनताको समस्या नजिकबाट सुनी तत्काल समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै उम्मेदवार सिंहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानको हितका विषयमा समेत जोड दिनुभयो। साथै, उहाँले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर गरेको काम र त्यहाँबाट बटुलेको अनुभवलाई अब संघीय संसद भवनसम्म पुर्‍याएर जनताको आवाज बुलन्द गर्ने अठोट व्यक्त गरे।
कार्यक्रममा सहभागी Gen Z युवाहरू र स्थानीयवासीहरूले नयाँ सोच, युवामैत्री नीति र इमानदार नेतृत्वप्रति उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरेका थिए। उज्यालो नेपाल पार्टीले यस्ता जनसम्पर्क र सम्मान कार्यक्रमहरूले संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध अझ मजबुत हुँदै गएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्