पर्सा–१ का उम्मेदवार रामकिशोर सिंह (पराग)लाई परवानीपुर–२१ मा Gen Z युवाद्वारा भव्य स्वागत

पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य रामकिशोर सिंह (पराग)लाई परवानीपुर गाउँपालिका वडा नम्बर–२१ मा स्थानीय Gen Z युवाहरूले भव्य स्वागत तथा सम्मान गरेका छन्।

आइतबार आयोजित स्वागत कार्यक्रममा युवाहरूले उम्मेदवार सिंहलाई खादा र माला लगाएर सम्मान व्यक्त गरेका थिए। कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।

भेटघाट तथा संवादका क्रममा उम्मेदवार सिंहले टोलवासी तथा युवासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका निर्माणाधीन तथा अधुरा विकास आयोजनाहरू, युवाका लागि रोजगारी र शिक्षाको अवस्था, साथै गाउँ–समाजको समग्र विकासका विषयमा आफ्ना धारणा राख्नुभयो।

उहाँले युवाहरू रोजगारी र शिक्षाका लागि सहर वा काठमाडौं केन्द्रित हुनुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा जोड दिँदै गाउँमै बसेर पनि रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र दिगो विकास सम्भव रहेको बताउनुभयो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० का वडाध्यक्षका रूपमा निर्वाचित भएर गरेको काम र त्यहाँबाट बटुलेको अनुभवलाई अब संघीय संसदसम्म पुर्‍याएर जनताको आवाज बुलन्द गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी Gen Z युवाहरूले नयाँ सोच, इमानदार नेतृत्व र युवामैत्री नीतिप्रति उम्मेदवार सिंहप्रति आशा र विश्वास व्यक्त गरेका थिए। उनीहरूले परिवर्तनका लागि युवाको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै आगामी निर्वाचनमा समर्थन जनाएका थिए।

उज्यालो नेपाल पार्टीले यस्ता जनसम्पर्क, स्वागत तथा संवाद कार्यक्रमहरूले संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध अझ मजबुत हुँदै गएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्