जनताको शासन स्थापनाका लागि रास्वपालाई जिताउन सुशीलको आग्रह

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बहुदरमाई नगरपालिका–२ स्थित बैरिया बिर्ता मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बिहीबार बिहान स्थानीय जनता, समाजसेवी, भर भलाद्मी तथा बुद्धिजीवीहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका छन् ।

घरदैलो तथा अन्तरक्रियाका क्रममा उम्मेदवार कानुले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाको चुनाव चिन्ह घण्टी छापमा मतदान गर्न स्थानीय वासीहरूलाई आग्रह गरे ।

उनले विगत करिब ३० वर्षदेखि व्यक्ति–केन्द्रित राजनीतिका कारण देश पछाडि परेको उल्लेख गर्दै अब त्यो प्रवृत्तिको अन्त्य गरी जनताको प्रत्यक्ष शासन स्थापना गर्न परिवर्तन अपरिहार्य भइसकेको बताए ।

कानुले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई सुधार गर्दै नयाँ नेपालको बलियो आधार निर्माण गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको स्पष्ट र व्यावहारिक रोडम्याप नै सही विकल्प भएको दाबी गरे । पुराना दल र नेताहरूले दिएको खोक्रो आश्वासनले जनतामा निराशा बढाएको भन्दै अब परिणाममुखी र जबाफदेही राजनीतिको आवश्यकता रहेको उनको भनाइ थियो ।

छलफलका क्रममा स्थानीयवासीहरूले पनि वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै पुरानै अनुहार र दोहोरिएका वाचा–प्रतिवाचाबाट आजित भएको बताए । उनीहरूले देशमा वास्तविक परिवर्तनका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक रहेको धारणा राखे ।

विशेष गरी युवाहरू तथा जेन–जी पुस्ताले आफ्नो अपेक्षाअनुसार काम गर्न सक्ने राजनीतिक शक्ति खोजिरहेको उल्लेख गर्दै रास्वपा प्रति विश्वास र समर्थन बढ्दै गएको कानुले बताए । स्थानीय युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने प्रतिबद्धता जनाउनु उत्साहजनक भएको उनले प्रतिक्रिया दिए ।

घरदैलो र प्रत्यक्ष संवादमार्फत जनताको आवाज सुन्ने र उनीहरूको समस्या राष्ट्रिय संसद्सम्म पुर्‍याउने प्रतिबद्धता जनाउँदै कानुले चुनावी अभियानलाई अझ तीव्र बनाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्