पर्सा–२ मा परिवर्तनको नारा, सुशीलको घरदैलो अभियानले गति लिँदै

पद्मौलमा सुशील कानुको चुनावी अभियान, मतदातासँग प्रत्यक्ष संवाद र आश्वासन

घरदैलो अभियानमा सुशिल साह कानु

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले बहुदरमाई नगरपालिका वडा नम्बर–३ पद्मौलमा मंगलबार व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

चुनावी अभियानअन्तर्गत मंगलबार बिहान पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूसँगै पद्मौल पुगेका कानुले मतदाताको घरघरमा पुगेर आगामी निर्वाचनमा रास्वपालाई मतदान गर्न आग्रह गरेका हुन्। घरदैलोका क्रममा उनले स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता तथा गुनासोहरू सुनेका थिए।

कानुले आफूलाई नेताभन्दा पनि जनताको सेवकका रूपमा प्रस्तुत गर्दै पर्सा–२ का नागरिकका हरेक सुख–दुःखमा साथ रहने प्रतिबद्धता व्यक्त गरे। उनले विगतमा जनताले भोग्दै आएका समस्या समाधानका लागि नयाँ सोच, पारदर्शी राजनीति र प्रभावकारी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले त्यसको नेतृत्व गर्न सक्ने दाबी गरे।

घरदैलो कार्यक्रमका क्रममा कानुले मधेसको राजनीतिक प्रतिनिधित्व र नेतृत्वको विषयलाई पनि जोड दिए। रास्वपाले जित हासिल गरे नेपालमा पहिलो पटक मधेसी समुदायका प्रतिनिधि बालेन्द्र शाह (बालेन शाह) प्रधानमन्त्री बन्ने अवसर प्राप्त हुने दाबी गर्दै उनले मधेसी जनताले यसपटक ऐतिहासिक अवसर गुमाउन नहुने बताए।

स्थानीय मतदाताले कानुको अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा कृषि विकासका विषयमा आफ्नो अपेक्षा र समस्याहरू राखेका थिए। कानुले ती समस्याहरूलाई नीति तथा कार्यक्रममार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

पर्सा–२ मा प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो, सभा तथा भेटघाट कार्यक्रममार्फत मतदाता आकर्षित गर्न सक्रिय रहेका छन्। यस्तो अवस्थामा कानुको अभियानले स्थानीय राजनीतिक माहोल थप सक्रिय बनेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्