नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजूरी

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सहसंयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेजको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय, गौरमा औपचारिक उजूरी दर्ता भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका नेपालविरुद्ध पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाललाई कपिलवस्तु जिल्लाको तिलौराकोटस्थित ऐतिहासिक तथा सरकारी सार्वजनिक सम्पत्ति रहेको जग्गा अवैधरूपमा हस्तान्तरण गरिएको प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै उजूरी दर्ता गरिएको हो ।

उक्त उजूरी प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश राय यादवले दर्ता गराएका हुन् । यादवले उजूरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ बमोजिम सरकारी सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत, बबरमहल काठमाडौंमा ०७९–४८–०१०७ नम्बरको आरोपपत्र दायर भइसकेको र सो मुद्दा हाल विचाराधीन अवस्थामा रहेको उल्लेख गरेका छन् ।

उजूरीमा अदालतमा मुद्दा विचाराधीन रहेका व्यक्तिले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उम्मेदवारी कायम राख्न नमिल्ने दाबी गर्दै नेपालको उम्मेदवारी खारेज गरिनुपर्ने माग गरिएको छ । यादवले कानुनले तोकेको मापदण्डअनुसार निर्वाचन स्वच्छ, निष्पक्ष र कानुनी दायराभित्र रहनुपर्ने भएकाले निर्वाचन अधिकृतले आवश्यक निर्णय लिनुपर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यसअघि पनि यही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यसपटकको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट पुनः उम्मेदवार बनेका छन् । उजूरी दर्ता गराएका रामनरेश राय यादव पनि सोही निर्वाचन क्षेत्रका उम्मेदवार हुन् ।

उजूरी दर्तापछि निर्वाचन अधिकृतको कार्यालयले कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ । निर्वाचन ऐन तथा सम्बन्धित कानुनी व्यवस्थाअनुसार उजूरीमाथि छानबिन गरी निर्णय गरिने कार्यालय स्रोतले जानकारी दिएको छ ।

उक्त उजूरीसँगै रौतहट–१ को चुनावी प्रतिस्पर्धा थप चासो र बहसको विषय बनेको छ । उम्मेदवारी खारेजीसम्बन्धी निर्णय निर्वाचन आयोग तथा निर्वाचन अधिकृतको कार्यालयले कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्