चर्चित अनुहार रुपेश पाण्डेय एमालेका तर्फबाट चुनावी मैदानमा

वीरगंज । नेकपा (एमाले) ले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट रुपेश पाण्डेलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवार बनाएको छ। पार्टीले वीरगंजस्थित पुजन होटलमा आयोजना गरेको विशेष कार्यक्रममा एमाले मधेस प्रदेशका उपाध्यक्ष बिचारी यादवले पाण्डेलाई उम्मेदवारी टिकट हस्तान्तरण गरेका हुन्।

टिकट हस्तान्तरण कार्यक्रममा एमालेका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरू, जनवर्गीय संगठनका प्रतिनिधि र कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै मधेस प्रदेश उपाध्यक्ष यादवले पर्सा–३ मा पार्टी संगठन मजबुत रहेको र रुपेश पाण्डेको उम्मेदवारीले एमालेको आधार अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनले एमालेले देशमा स्थायित्व, विकास र सुशासनका लागि निरन्तर काम गर्दै आएको दाबी गर्दै यस निर्वाचनमा जनताले पुनः एमालेलाई भरोसा गर्ने बताए।

उम्मेदवार रुपेश पाण्डेले पार्टीले दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै निर्वाचनमा एमालेको नीति, कार्यक्रम र घोषणापत्रलाई जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता जनाए। उनले जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय आवश्यकता, समस्या र अपेक्षालाई संसदमा बुलन्द रूपमा उठाउने बताए। “राजनीति जनसेवाको माध्यम हो,” पाण्डेले भने, “म जनताका आवाजलाई केन्द्रमा राखेर काम गर्नेछु।”

पाण्डेले पर्सा क्षेत्र नम्बर–३ को विकासका लागि पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार तथा युवालाई अवसर प्रदान गर्ने विषयलाई प्राथमिकतामा राख्ने जनाए। साथै उनले पार्टी संगठनलाई अझ सुदृढ बनाउँदै निर्वाचनमा एकजुट भएर अघि बढ्न कार्यकर्तालाई आह्वान गरे।

एमाले स्रोतका अनुसार रुपेश पाण्डे संगठनात्मक रूपमा सक्रिय, स्थानीय स्तरमा राम्रो पकड भएका र पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिन्छन्। उनको उम्मेदवारीले पर्सा–३ मा एमालेको चुनावी अभियानलाई थप गति दिने पार्टीको विश्वास छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा क्षेत्र नम्बर–३ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरू मैदानमा उत्रँदै गर्दा एमालेका तर्फबाट रुपेश पाण्डेको उम्मेदवारीले चुनावी प्रतिस्पर्धा थप रोचक र कडा बन्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्