उज्यालो नेपाल पार्टीबाट राम किशोर सिंह पर्सा–१ का उम्मेदवार

वीरगंज । पूर्व ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० का वडाध्यक्ष राम किशोर सिंह (पराग) लाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाएको छ। पार्टीले औपचारिक रूपमा टिकट प्रदान गरेसँगै पर्सा–१ को राजनीतिक प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिंहले आजै उम्मेदवारी मनोनयन दर्ता गर्ने जानकारी दिएका छन्। उनले मनोनयन दर्ता गरेपछि स्थानीय तहको जनप्रतिनिधि पद स्वतः खारेज हुने कानुनी व्यवस्था रहेकाले हालसम्म वडाध्यक्ष पदबाट राजीनामा नदिएको स्पष्ट पारेका छन्। निर्वाचन कानुनअनुसार उम्मेदवारी दर्ता भएपछि वडाध्यक्ष पद स्वतः रिक्त हुने व्यवस्था छ।

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यसमेत रहेका राम किशोर सिंह ‘पराग’ जेन–जी आन्दोलनपछि नेकपा (एमाले) परित्याग गर्दै स्वतन्त्र राजनीतिक यात्रामा निस्किएका नेता हुन्। उनले एमालेभित्र ‘दास प्रथा’ मौलाउँदै गएको, नेतृत्वप्रति अन्धभक्ति बढेको र कम्युनिस्ट विचारधारासँग मेल नखाने गतिविधिहरू हावी भएको आरोप लगाउँदै वीरगञ्ज महानगर कमिटीको उपाध्यक्ष पदसहित साधारण सदस्यताबाट समेत राजीनामा दिएका थिए।

स्थानीय तहमा सक्रिय र जनसम्पर्कमा प्रभावशाली मानिने पराग वीरगञ्ज–२० का लोकप्रिय वडाध्यक्षका रूपमा चिनिन्छन्। वडामा पूर्वाधार विकास, सामाजिक सेवा र युवामैत्री कार्यक्रममार्फत उनले चर्चा कमाएका छन्। यही पृष्ठभूमिका कारण उज्यालो नेपाल पार्टीले उनलाई पर्सा–१ मा प्रतिस्पर्धी उम्मेदवारका रूपमा अघि सारेको बताइएको छ।

पार्टी नेतृत्वका अनुसार परागको उम्मेदवारीले वैकल्पिक राजनीतिलाई बल पुग्ने र पुराना दलहरूप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। विशेष गरी युवापुस्ता र स्वतन्त्र सोच भएका मतदातामाझ उनको राम्रो पकड रहेको पार्टीको दाबी छ।

उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका सिंहको उम्मेदवारीले पर्सा–१ को चुनावी समीकरणमा नयाँ आयाम थपिएको विश्लेषण गरिएको छ। यस क्षेत्रबाट प्रमुख दलका प्रभावशाली उम्मेदवारहरू प्रतिस्पर्धामा रहेको अवस्थामा परागको प्रवेशले चुनावलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्