पर्सा–२ बाट एमाले उम्मेदवार रिमा कुमारी यादव, चारै क्षेत्रमा टुंगियो उम्मेदवारी

वीरगंज । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट रिमा कुमारी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वीरगञ्ज महानगरपालिका–२९ मुसैली निवासी तथा एमाले नेता प्रद्युम्न यादवकी पत्नी रिमा कुमारी यादवलाई पार्टीले औपचारिक रूपमा टिकट प्रदान गरेको हो । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उम्मेदवारी पत्र हस्तान्तरण गर्दै उनलाई निर्वाचनमा अघि बढाउने घोषणा गरिएको छ ।

उक्त कार्यक्रममा मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, नेता बासुदेव यादव, लियाकत अलीलगायतका वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो । नेताहरूले रिमा यादवको उम्मेदवारीले पर्सा–२ मा मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार हुने र पार्टीको एजेन्डा प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनीहरूले जातीय समन्वय, स्थानीय विकास र सामाजिक सेवालाई प्रमुख प्राथमिकताका रूपमा अघि सारिने बताए ।

पार्टी स्रोतका अनुसार यसअघि पर्सा–२ बाट एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्जका पूर्व मेयर विजयकुमार सरावगीलाई उम्मेदवार बनाउने प्रयास गरिएको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि सरावगीलाई निर्वाचन लड्न आग्रह गरेका थिए । तर सरावगीले प्रतिनिधिसभा निर्वाचन नलड्ने अडान लिएपछि अन्ततः रिमा यादवलाई टिकट दिइएको हो ।

सरावगी आगामी स्थानीय तह निर्वाचनमा पुनः वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने तयारीमा रहेको स्रोतले जनाएको छ । यसअघिको स्थानीय तह निर्वाचनमा उनी जसपा नेपालका राजेशमान सिंहसँग पराजित भएका थिए ।

यसैबीच एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट पूर्व मन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई पनि उम्मेदवार बनाएको छ । आइतबार राति मात्र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका यादवलाई पार्टीले सोही क्षेत्रबाट टिकट दिएको हो ।

त्यस्तै एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट पूर्व मन्त्री तथा मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल र पर्सा निर्वाचन क्षेत्र नम्बर–४ बाट जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्