जसपा परित्याग गर्दै प्रदीप यादवसहित वीरगञ्ज मेयर राजेशमान सिंह एमालेमा

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी पूर्व मन्त्री प्रदीप यादवसहित वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नेकपा (एमाले)मा प्रवेश गरेका छन् । उनीहरूसँगै पर्सा जिल्लाका यादव निकट अन्य नेताहरू पनि एमालेमा सामेल भएका छन् ।

आइतबार राति एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको गुण्डुस्थित निजी निवासमा आयोजित कार्यक्रममा प्रदीप यादव, मेयर राजेशमान सिंहलगायतलाई खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेशलगत्तै अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा उपनिर्वाचनमा पर्सा–१ बाट प्रदीप यादवलाई एमालेको उम्मेदवार बनाउने घोषणा गरेका छन् । यादव यसअघि सोही क्षेत्रबाट २०७४ र २०७९ मा गरी दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । २०७९ मा उनले २२ हजार ५३७ मत ल्याएर जित हासिल गरेका थिए ।

एमाले प्रवेशबारे प्रतिक्रिया दिँदै यादवले जसपा नेपालले आफूलाई ‘सहिद बनाउने षड्यन्त्र’ गरेको महसुस भएपछि पार्टी परिवर्तन गरेको बताएका छन् । “एमालेले ममाथि विश्वास गरेकोमा अध्यक्ष केपी ओलीप्रति कृतज्ञ छु,” उनले भने । मनोनयन दर्ता मङ्गलवार रहेकाले सोमबारदेखि नै निर्वाचन क्षेत्रमा फर्किएर चुनावी अभियान सुरु गर्ने तयारी उनको छ ।

यादवसँगै मेयर राजेशमान सिंह, पूर्व प्रदेशसभा सदस्य जनत अन्सारीलगायत नेताहरूको एमाले प्रवेशले वीरगञ्ज र पर्साको राजनीतिक समीकरणमा नयाँ तरङ्ग ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्