महानगर प्रमुख पदबाट बालेनको राजिनामा, सुधन गुरुङ रास्वपा प्रवेश गर्ने

वीरगञ्ज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिएका छन् । आजदेखि नै लागू हुने गरी उनले उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को स्थानीय तह निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दै मेयर बनेका शाहले राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने तयारी स्वरूप राजीनामा दिएका छन् । राजीनामा लगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । बैठक दिउँसो ३ बजे बस्ने बताइएको छ । स्रोतका अनुसार शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्री पदका उम्मेदवार बन्ने तयारीमा छन् । पार्टीले उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिइसकेको छ । राजीनामापछि उनको राष्ट्रिय राजनीतिक यात्रा औपचारिक रूपमा सुरु हुने भएको हो ।

मेयर पदबाट राजीनामा दिएसँगै काठमाडौँ महानगरपालिकाको जिम्मेवारी उपमेयर सुनिता डङ्गोलले सम्हाल्नेछिन् । कानुनी व्यवस्थाअनुसार पद रिक्त भएमा उपनिर्वाचन हुन सक्ने सम्भावना छ । बालेनको निर्णयले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ । युवा पुस्तामा लोकप्रिय शाहको कदमलाई धेरैले राष्ट्रिय परिवर्तनको सङ्केतका रूपमा हेरेका छन् ।

यता जेनजी आन्दोलनका अगुवा मध्येका एक सुधन गुरुङ रास्वपा प्रवेश गर्ने भएका छन्।

हामी नेपाल नामक संस्थामार्फत सामाजिक काममा सक्रिय गुरुङ जेनजी आन्दोलनपछि चर्चामा आएका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच वार्ता गराउनेदेखि उज्यालो नेपालका कुलमान घिसिङलाई रास्वपा प्रवेश गराउनेसम्मको काममा सक्रिय सुधन रास्वपा छिरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू रास्वपा प्रवेश गर्न लागेको जानकारी गराएका हुन्। उनले फेसबुकमा लेखेका छन्, 'आज दिउँसो ३:३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो। तपाईंहरूले माग गर्नुभएको जवाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ। जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ। यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ।'

केही दिन अघि सुधनले गोरखा- १ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्